राजनीति

जोखिम न्यूनिकरण गर्न प्रभावकारी नीति, संरचना तथा योजना : मुख्यमन्त्री राई



विराटनगर, १२ पौष । प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले प्रदेश नं. १ मा विपद् जोखिम न्यूनीकरणको काम जेनतेन ढङ्गले नभई प्रभावकारी ढङ्गले सञ्चालन गर्न नीति, संरचना र योजना विपद् जोखिम न्यूनीकरणमैत्री भएको बताउनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा उहाँले विकास र समृद्धिको कुरा गर्दा विपद् जोखिमलाई पनि न्यूनीकरण गर्नेतर्फ विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले प्रदेशमा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन गर्ने बताउनु भएको छ ।

विपद् व्यवस्थापनमा विगतका सरकारले ठोस ढङ्गले पूर्वतयारी नगरेका कारण जनधनको क्षति भएको चर्चा गर्दै आगामी दिनमा प्रदेश नं. १ मा त्यस्तै विपद् व्यहोर्नु नपर्ने बताउनुभयो ।

उहाँले प्रदेश नं १ मा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनिसकेको छ र अब नियमावली एवं निर्देशिका बनाउने तयारीमा रहेको जानकारी समेत गराउनुभयो । प्रदेशमा मानवीय तथा भौतिक क्षति हुन नदिन सरकार सचेत छ भन्दै विपद्लाई राहतमा नबुझ्न समेत आग्रह गर्नुभयो ।