भक्तपुर, १४ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालमा हुने गरेको महिला हिंसा तथा बलत्कार विकृत मानसिकताको उपज भएको भन्दै कुनै पनि अपराधी कानुनभन्दा माथि रहन नसक्ने बताउनुभएको छ ।
मानविय आस्था नेपालले शुक्रवार आयोजना गरेको लैङ्गिक हिसा विरूद्ध सरोकारवाला निकायहरूको भूमिका विषयक विचार गोष्ठि कार्यक्रममा बोल्दै सांसद बस्नेतले कुनै पनि अपराधिक कृयाकलापमा लागेका जो कोहीलाई सरकारले कानुनी कठाघरामा ल्यारै छोड्ने बताउनुभयो । देशमा सडक दुर्घटना तथा महिला हिंसाका कारण मानविय क्षती व्यहोर्नु दुःखद् रहेको भन्दै महिला हिंसा नियन्त्रण गर्न रुढिवादी तथा परम्पराको मनोविज्ञानलाई अन्त्य गर्दै जनचेतनाको विकास गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उहाँले विभिन्न प्रकारका सेवा सुविधामा लैङ्गिक विभेद नदेखिएता पनि विभिन्न प्रकारले विभेद हुने गरेको बताउँदै मानव अधिकार, महिला अधिकार, चेतनाको विकासका कारण हिंसाका घटनाहरु सार्वजनिक हुन थालेको बताउनुभयो । उहाँले पछिल्लो समय हिंसाका घटना बढेको नभई जनचेतनाको विकासका कारण त्यस्ता अपराधिक कृयाकलापका घटनाहरु बाहिर आउन थालेको बताउनुभयो । हिंसा नियन्त्रण गर्न परिवार तथा समाज जागरुक हुनेपर्ने समेत बताउनुभयो ।
मानविय आस्था नेपालको संरक्षक समेत रहनुभएको सांसद बस्नेतले भक्तपुरका सवै निकाय तथा संस्था हिंसा, विपद्को व्यवस्थापनका एक जुट भएको भन्दै मानविय आस्था नेपालले भुकम्प पिडित २५० बालबालिकालाई अध्ययन, सिपमुलक तालिमको व्यवस्था गरेको, आधुनिक कृषि प्रणालीलाई विकास गरेकोमा उच्च प्रशंसा समेत व्यक्त गर्नुभयो ।
आपतकालिन दुर्घटनालाई न्युनिकरण गर्न आवश्यक रहेको भन्दै उहाँले सडक दुर्घटना तथा वर्षायाममा हुने बाढीको समस्या समाधान गर्नु अहिलेको अपरिहार्य भएको बताउनुभयो । उहाँले भक्तपुरमा भएको सवै प्रकारको समस्या समाधान गर्ने अहिलेको उत्तम कार्य हुनुमन्ते नदी तथा अरनिको राजमार्ग सफाई अभियान भएको धारणा प्रस्तुत गर्नुभयो ।
सफाई अभियान सफाई गर्ने मात्र नभई अरनिको राजमार्गमा अतिक्रमणको अन्त्य गराउने कार्य भएको भन्दै उहाँले दर्ता नभएका पसललाई दर्ता गराउने, नक्सा पास नभएका घरलाई नक्सा पास गर्न लगाउने, पार्किङ, खुद्रा, फलफुल तथा तरकारी बजारको व्यवस्था गर्ने, चोक चोकमा सार्वजनिक शौचालनको व्यवस्थापन लगायतका कार्यहरु समेत सफाई अभियानसँगै हुने बताउनुभयो ।
भक्तपुरको सफाई अभियानको अनुकरण गर्दै देशभर सफाई गर्ने अभियान शुरु भएको भन्दै सांसद बस्नेतले हनुमन्ते नदी सफाई अभियान विपद् व्यवस्थापनको विकल्पको रुपमा अघि बढेको बताउनुभयो । उहाँले हनुमन्तेको दायाँ बाँया ढल तथा करिडोर निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको र उक्त निर्माण कार्य सम्पन्न भएपश्चात डुबानमुक्त, जाममुक्त तथा दुर्घटनामुक्त भक्तपुर हुने समेत बताउनुभयो । उहाँले अरनिको राजमार्ग सफाई र हनुमन्ते नदीको सफाई अभियान प्लास्टिक टिप्ने मात्र होईन भक्तपुरको मुहार फेर्न कार्य भएको समेत बताउनुभयो ।
भक्तपुरको मुहार फेर्ने महत्वकाक्षि योजनाका साथ भक्तपुरमा अन्तराष्ट्रिय स्तरको रंगशाला, कबोर्डहल, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रिय सुविधा सम्पन्न सभाहल, सुविधा सम्पन्न वीर अस्पताल बनाउने, ग्रामिण गन्तव्यको रुपमा विकास गर्ने, ड्याम्प बनाउने कार्य भइरहेको समेत उहाँले जानकारी गराउनुभयो ।
सामाजिक संस्थाले चन्दा लिने भन्दा विकासमुखी कार्य गर्नुपर्ने भन्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले रोजगारी तथा व्यवसायको क्षेत्र विकास र विस्तार गर्दै आम्दानीको स्रोतको बृद्धि गर्ने कार्यमा सवै एक ढिक्का भई लाग्ुनपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्