काठमाडौँ, १७ पौष । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) सन्दीप भण्डारीले पछिल्लो समयमा वयस्कहरुमात्रै नभई युवापुस्ता, किशोरकिशोरी र वालवालिकासमेत फेसबुक, ट्विटर, वाट्सअप लगायतका सामाजिक सञ्जालको लतमा फसेकोमा गुनासो गर्नुभएको छ ।
गृह मन्त्रालयले गत कात्तिकदेखि अभियानको रुपमा अघि सारेको ‘समुदाय—प्रहरी साझेदारी कार्यक्रम’ अन्र्तगत आइतबार काठमाडौं—३१ शान्तिनगरस्थित आशा ईङलिस बोर्डिङ स्कूलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साइबर क्राइमबारे जानकारी दिँदै एसपि भण्डारीले सो गुनासो गर्नुभएको हो ।
केटाकेटीदेखि र अभिभावकहरु र्फुसद भयो कि मोवाइलमा व्यस्त हुने कारणले गर्दा पछिल्लो समयमा एउटै परिवारका सदस्यहरुवीच पनि आत्मियता, सद्भाव र स्नेहमा समेत कमि हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै एसपि भण्डारीले नयाँ कुराहरु सिक्नका लागि प्रयोगमा ल्याइएको सामाजिक सञ्जाल पछिल्लो समयमा अपराध कार्यमा प्रयोग भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले उमेरको कारणले गर्दा सकभर विद्यार्थीहरुले फेसबुक एकाउण्ट नखोल्नु, यदि खोलिहाल्यो भने त्यसको पासवर्ड आफ्ना अभिभावक वाहेक अरु कसैसंग शेयर नगर्नु भन्नुभयो । अभिभावकहरुसंग पासवर्ड शेयर गर्दा आफ्ना छोराछोरीले कोसंग के कुरा गरिराखेका छन, कतै अपराधिक गतिविधिमा जाँदै त छैनन, भन्ने कुरा बेलैमा थाहा हुने पनि एसपि भण्डारीले बताउनुभयो ।
सामुदायीक प्रहरी सेवा—३१ को पहलमा आयोजित साइबार क्राइम र औषधबारेको लागु औषध दुरुपयोग विषयक अन्तरक्रिया कार्यक्रममा एसपि भण्डारीले विद्यार्थीहरुलाई लागुऔषधबाट टाढा बस्न समेत आग्रह गर्नुभयो । सहभागि विद्यार्थीबाट उठेका जिज्ञासाको समेत एसपि भण्डारीले जवाफ दिनुभएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्ले तथा सामुदायीक प्रहरी सेवा—३१ का इन्चार्ज, प्रहरी निरीक्षक वासुदेव नेपालसमेतको सहभागिता थियो ।










प्रतिक्रिया दिनुहोस्