राजनीति

माघ १० गतेभित्र सबै सङ्गठनको एकता टुङ्गिन्छ : उपप्रधानमन्त्री पोखरेल



तनहुँ, २० पौष । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी माघ १० गतेभित्र पार्टीको तल्लो तह तथा अन्य जनवर्गिय संगठनहरुको एकता टुङ्गिने बताउनुभएको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री पोखरेलले पोखरेलले पुस मसान्तभित्रै पार्टी एकताको टुङ्गो लगाउने भनिएपनि पुसमा त्यो सम्भव नदेखिएको बताउनुभयो । उहाँले पार्टी एकता टुङ्गो नलाग्दा तल्लो तहसम्म पार्टीको गतिविधि चलायमान हुन नसकेको बताउनुभयो ।

उहाँले विचार कमजोर भए पार्टी कमजोर हुने भएकाले सबै नयाँ सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले तल्लो तहसम्म एकता नटुङ्गिएकाले सरकारका राम्रा कामको प्रचार हुन नपाएको बताउनुभयो ।

आफूहरुले चुनावी घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता रु पाँच हजार पु¥याउने उल्लेख गरेको स्मरण गराउँदै मन्त्री पोखरेलले भन्नुभयो, “कतिपयले सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा पूरा गरेन भन्नुभएको छ, हामीले भनेका छौँ हाम्रै कार्यकालमा उक्त भत्ता रु पाँच हजार पु¥याइनेछ ।”

रक्षामन्त्री पोखरेलले फागुनभित्रै आवश्यक कानून फागुनभित्रै निर्माण गर्ने बताउनुभयो । संविधानमा व्यवस्था भएका सुन्दर पक्षलाई लागू गर्न कानूनको अभाव भएको भन्दै उहाँले कानून बनेपछि कानून अनुसारको संरचना निर्माणलाई जोड दिइने बताउनुभयो ।

सरकारले हालै मात्र पारित गरेको कर्मचारी अध्यादेशको विरुद्ध कर्मचारीको विरोध अनावश्यक रहेको भन्दै मन्त्री पोखरेलले अध्यादेशमा भएका असहमतिलाई सच्याउन सकिने धारणा व्यक्त गर्नुभयो ।