समाचार

सांसद बस्नेतद्वारा सेवा घरलाई सहयोग हस्तान्तरण



भक्तपुर, २२ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको चाँगुनाराण ७ स्थित मानव कल्याण समाज सेवा घरलाई आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।

मानविय आस्था नेपालका संरक्षक समेत रहनुभएका सांसद बस्नेतले मानविय आस्था नेपालको तर्फबाट रु ५० हजार नगद सहयोग हस्तान्तरण गर्नुभएको हो । नगदको साथमा उहाँद्वारा लिखित ‘म महेश’ नामक एक हजार वटा पुस्तक समेत हस्तान्तरण गर्नुभएको छ । उक्त पुस्तकको मूल्य प्रति गोटा रु ६५० रहेको छ ।

उहाँले पुस्तक विक्रि गरी आउने सम्पूर्ण रकम उक्त सेवा घरकै लागि प्रयोग गर्न भन्दै सेवा घरकी अध्यक्ष तथा संचालक सुमित्रा चौलागाईलाई हस्तान्तरण गर्नुभएको हो ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले समृद्ध नेपाल सुखी नेपाली सरकारको अभियानलाई सफल बनाउन सडकमा रहेका सबै उमेर समुहका अशक्त, अनाथ, अपाङ्ग, असहाय र मनोरोगी लगायतका ब्यक्तिहरुलाई व्यवस्थापन अहिलेको अपरिहार्य भएको बताउनुभयो । उहाँले देशमा कुनै पनि प्रकारका मानिसले परिवार विहिनको महशुस गर्नु नहुने वातावरणको सिर्जना गर्नुपर्नेमा जोड दिँदै संस्थाले त्यस प्रकारका मासिनलाई एक ठाउँमा ल्याई पालन पोषण तथा कतिपय व्यक्तिको घरमा लगि जिम्मा लगाउने कार्य गरेको भन्दै उच्च प्रशंसा समेत गर्नुभयो ।

उहाँले बेवारीसे सडक मानव व्यवस्थापना गर्न प्रदेश सरकारसङ्ग आर्थिक तथा प्राबिधिक सहयोगको लागि संम्बन्धीत निकाय वा संस्थाहरुले विशेष ध्यान दिई सहयोग गर्नु पर्नेमा जोड दिनुभयो । त्यस्तै उहाँले संस्थाले सवै नागरिक सरह सडक मानिस संरक्षण गर्दै एउटा परिवारको रुपमा राखी संरक्षण गरेकोमा विशेष धन्यवाद दिई संस्थालाई आफ्नो तर्फबाट गर्न सक्ने सहयोग जहिले पनि निरतर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

२०७५ साल बैशाख २४ गतेबाट भक्तपुरका सडक तथा सार्वजनिक स्थलहरुमा कस्टकर जीवनयापन गर्न बिवश सबै उमेर समुहका अशक्त, अनाथ, अपाङ्ग, असहाय र मनोरोगी ब्यक्तिहरुलाई सेवा गर्दै आएको मानव कल्याण समाजको सेवा कार्यबाट प्रभाबित भएको आम भक्तपुरवासी नागरिकको भनाइरहेको छ ।