राजनीति

भक्तपुरमा डुबानको समस्या समाधान हुने



काठमाडौँ, २४ पौष । प्रायः प्रत्येक वर्ष जस्तो डुवानको समस्या झेल्दै आइरहेको भक्तपुर जिल्लाले आगामी दिनहरुमा डुबानको समस्यालाई स्थायी रुपमा समाधान हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा आज डुबान प्रभावित क्षेत्रमा समस्या समाधानको लागि भवन विभागको प्राविधिक टोलीले स्थलगन अध्ययन शुरु गरेको छ ।

भक्तपुरको राधेराधे, वाप्पा महादेव, खर्यास्याङ्खुर्सुङ लगायतका डुवान क्ष्ोत्रहरुमा उक्त प्राविधिक टोलीले निरिक्षण तथा अनुगमन गरेको हो । उक्त टोलीले परापूर्वकालदेखि समस्या झेल्दै आइरहेका स्थानीयवासीलाई आगामी दिनमा डुबानको समस्यालाई स्थायी समाधान गर्ने बाटोमा अघि बढेको जानकारी गराएको छ ।

समस्या समाधान गर्न ड्रिनेज, हिमपाइप लगायतका आवश्यकता अनुसारको व्यवस्था गर्ने भएको हो । एक करोडको लगानीमा हुन लागेको उक्त कामलाई आवश्यक सवै ठाउँहरुमा काम अघि बढाइने टोलीले जानकारी गराएको छ ।

आगामी वर्षायामलाई मध्यनजर गर्दै तत्कालै डिपिआरको प्रकृया अघि बढाइने समेत उक्त टोलीले जनाएको छ ।

उक्त अनुगमनका क्रममा सांसद बस्नेतले चाँडोभन्दा चाँडो डिपिआरको काम सम्पन्न गरी काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले डुवान तथा अरनिको राजमार्गमा सवारी जामको समस्या समाधान गर्न हनुमन्ते नदीको करिडोर तथा ढल निर्माण समेत तिव्र गतिमा अघि बढिरहेको जानकारी गराउनुभयो ।