Banner News

प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री कोनोबीच भेटवार्ता



काठमाडौँ, २६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच भेटवार्ता भएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणमा रहेका कोनोले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई आज भेटेका हुन् ।  छलफलमा दुईदेशबीचको आपसि हित, नेपाली कामदार जापान पठाउने विषयमा छलफल भएको बुझिएको छ ।

१८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका कोनोले बुधबार नै मन्त्रीस्तरीय बैठकमा सहभागी बनेका थिए । मन्त्रीस्तरीय वार्तापछि दुई देशबीच सीधा हवाई उडान सम्झौता भएको थियो ।

जापानी विदेश मन्त्री कोनोले नेपालमा रहँदा उच्चस्तरीय भेटघाट गर्ने र संयुक्त प्रेस सम्बोधन गर्नुहुने कार्यक्रम रहेकोछ ।

त्यस अवसरमा नेपाल–जापान सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । मन्त्री कोनो नेतृत्वको जापानी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका निम्ति अनुरोध गर्नुभएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बताउनुभयो ।

भेटमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार विमर्श भएको छ ।

नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने कोनोले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।