भक्तपुर, २६ पौष । समृद्ध भक्तपुर सुखी भक्तपुर बनाउने मूख्य उद्देश्यका साथ थालिएको अरनिको राजमार्ग तथा हनुमन्ते नदीको सफाई अभियानलाई थप प्रभाकारी बनाउन अनुगमनलाई कडाईका साथ अघि बढाइने भएको छ ।
जिल्ला समन्वय समितिको कार्यालयमा भएको छलफलले आगामी दिनमा अनुगमनलाई प्रभावकारी बनाउँदै गाडीबाट फोहोर फाल्न मनाही गर्ने भएको हो ।
भक्तपुरको मुख्य दुई सडकको रुपमा संचालनमा रहेका नयाँ बाटो (अरनिको राजमार्ग) र पेप्सीकोला सल्लाघारी जाने पुरानो बाटो चलाईने यातायात व्यवसायी समितिसँग भएको छलफलले उक्त सडकमा चल्ने सम्पूर्ण सवारी/गाडीमा फोहोर फाल्ने डस्वीनको अनिवार्य प्रयोग गर्ने तथा गराउने निर्णय गरेको छ ।
त्यस्तै सफाईलाई मात्र नभई सवारी दुर्घटना न्युनिकरण गर्नु अभियानको अर्को महत्वपूर्ण पक्ष रहेको छ । जसमा भक्तपुर जिल्ला भर आगामी दिनमा यात्रुबहाक सवारी साधनले यात्रुलाई ओराल्ने वा चढाउने कार्यमा बस स्टपमा मात्र पाउने भएका छन् । त्यस्तै कुनै पनि सवारी चालक तथा सहचालकले अनिवार्य रुपमा परिचय खुल्ने प्रकारको ड्रेस अनिवार्य लगाउनुपर्ने भएको छ ।
उक्त छलफलले वातापरण प्रदुषणलाई न्यूनिकरण गर्न भक्तपुर प्रहरी प्रमुख एसपी हिमालय कुमार श्रेष्ठको संयोजकत्वमा व्यवस्थापन समिति समेत गठन गरेको छ । जसमा सूर्यविनायक नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकाके वातावरण शाखाका अध्यक्ष समितिको सदस्य रहने छन् ।
त्यस्तै दुवै नगरपालिकाका वातावरण समितिका वडाध्यक्ष, यातायात व्यवसायीका प्रतिनिधि, ट्राफिक प्रहरी प्रमुख, नेप्सेम्याक, फुलवारी तथा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नारायण लघु सदस्य रहने गरी उक्त व्यवस्थापन समिति गठन गरेको छ ।
छलफलले अभियानलाई अझ बढी प्रभावकारी बनाउन आगामी माघ ५ गते शनिवार भक्तपुर जिल्लामा रहेका सम्पूर्ण यातायात समितिलाई बोलाई बृहत छलफल गरी उपयुक्त र प्रभावकारी निर्णय समेत लिने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्दीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अरनिको राजमार्ग तथा आसपासमा रहेका घर तथा पसलहरुमा सफाईको उल्ल्ेख्य रुपमा सुधार भएको बताउँदै फोहोर व्यवस्थापनको मूख्य जिम्मेवारी सम्बन्धीत नगरपालिकाको भएको र त्यसको साथ साथै निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले गाडीमा बजाइने गीतको साथ साथै सचेतनामूलक जिङ्गल समेत अनिवार्य रुपमा बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गाडीको टायर तथा प्लास्टिक बाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाडीमा जिङगल, डस्वीन र सुद्धता हुनुपर्ने बताउँदै सवारी साधनमा धुम्रपान तथा मध्यपानको निषेध गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी प्रमुख एसपी श्रेष्ठले अभियानलाई व्यवस्थित तवरले घनिभुत रुपमा सफल बनाउन गाडीको झ्यालहरु बन्द गरी सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गाडी सञ्चालन प्रणाली तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाई अघि बढ्नुपर्ने बताउनुभयो ।
सांसद बस्नेतको नेतृत्वमा वीरदल गणका प्रमुख सेनानी (कर्णेल) शीवप्रसाद पौडेल, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर थिमी नगरपालिकाका उपप्रुमख अञ्जनादेवी मधिकर्मी, सूनपाका कार्यकारी प्रमुख घनश्याम न्यौपाने, एसपी श्रेष्ठ, सशस्त्र प्रहरीका एसपी पुरुषोत्तम थापा, ट्राफिक प्रहरी प्रमुख लगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्