समाचार

विद्युत प्राधिकरणद्वारा नयाँ मिटर जडान



काठमाडौं, २६ पौष । नेपाल विद्युत प्राधिकरणले सिंगल फेजको नयाँ मिटर सात दिनभित्रमै जडान गर्ने भएको छ ।

साथै थ्री फेज र टिओडी नयाँ मिटर पनि १५  दिन र एक महिनाभित्रमा जडान गरिदिने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

सिंगल फेजको मिटर जलेमा वा विग्रेमा एक दिन, थ्री फेजको तीन दिन र डिओडी १० दिनभित्रमा जडानरमर्मत गर्ने प्रतिबद्धता प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ग्राहक सेवा सुधारका लागि ग्राहक सेवासम्बन्धी प्रतिबद्धता हरेक कार्यालयमा टाँसी सोहीअनुसारको काम गर्न निर्देशन दिएका हुन् ।

निर्देशक घिसिङ विद्युत् चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी वक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने, निर्माणाधीन जलविद्युत तथा प्रसारण लाइनको निर्माणलाई तिब्रता दिने लगायतका काममा केन्द्रित भएका छन् ।

नयाँ मिटर जडानमा समस्या रहेको र कर्मचारीले अनावश्यक दुःख दिने गरेको ग्राहकबाट गुनासो आएपछि प्राधिकरणले ग्राहक तथा वितरण केन्द्रले कार्यसम्पादन अवधिसहितको प्रतिबद्धता पत्र फ्लेक्समा प्रिन्ट गरी सबैले देख्ने ठाउँमा राख्न निर्देशन दिएको छ ।