राजनीति

पर्यटन प्रवर्द्धन रोक्ने हिसाबले गरिने सुनियोजित षड्यन्त्र सह्य हुँदैन : मन्त्री अधिकारी



बुटवल, २७ पौष । संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले विभिन्न बहानामा पर्यटन प्रवद्र्धन रोक्ने हिसाबले गरिने जस्तोसुकै सुनियोजित षड्यन्त्र सह्य नहुने बताउनुभएको छ ।

आज लुम्बिनीस्थित पवित्र उद्यानमा बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटन गर्दै मन्त्री अधिकारीले वाइड बडी विमानमा अनियमितता भएको सम्बन्धी अनावश्यक रुपमा राजनीतिक प्रतिसोधका लागि गरिएको भन्दै आक्रोस व्यक्त गर्नुभयो । उहाँले काम गर्ने कालु मकै खाने भालु भने जस्तै भएको बताउँदै वाइड बडिको विषयमा सवै काम तथा योजनाहरु पहिलेको सरकारले नै गरेको र त्यसमा वर्तमान सरकारको संलग्नता अन्तिम किस्तामा मात्र रहेको जानकारी गराउनुभयो । उहाँले वाइड वडी प्रकृयामा दोषी ढहरिएका जो कोहीलाई पनि सरकारले कारवाही गर्न खुट्टा नकमाउने समेत बताउनुभयो ।

मन्त्री अधिकारीले बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार कमी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी जस्तै धार्मिक र प्राकृतिक सम्पदा, भौगोलिक बनोट, जैविक विविधताका कारण घुम्नका लागि नेपाल संसारकै राम्रो देश हो,’ मन्त्री अधिकारीले भने, ‘त्यसैले जति धेरै प्रचार प्रसार गर्न सक्छौं,त्यति धेरै पर्यटक बढ्नेछन् ।’

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने तयारी गरिरहेको उल्लेख गर्दै उनले २० लाख पर्यटक भित्राउने लक्ष्य सहजै पुरा हुने दावि गर्नुभयो । उहाँले २ लाख पर्यटक त गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाटै आउने समेत बताउनुभयो ।

पर्यटन नै नेपालको समृद्धिको प्रमुख आधार रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले यसमा नीजि क्षेत्रको साथ चाहिने बताउनुभयो । त्यसको लागि सरकार नीजि क्षेत्रलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।