भक्तपुर, २९ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा आएका कुनै पनि विकास निर्माणका कार्य तथा योजनाहरु फेरी फर्कने अवस्था आएमा नेपाल मजदुर किसान पार्टीलाई जनताले माफ नगर्ने चेतावनी दिनुभएको छ ।
भक्तपुर फर्निचर तथा फर्निसिङ्ग व्यवसायी संघको बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनमा शनिवार आयोजित कार्यक्रममा बोल्दै सांसद बस्नेतले नेपालको काष्ठकला, मूर्तिकला, धातुकला, फर्निचरसँग विश्वमा कसैले प्रतिस्पर्धा गर्न नसक्ने बताउदै यस्ता कालीगढ भक्तपुरमा मात्रै हुनु गौरवको कुरा भएको बताउनुभयो । उहाँले विकास विरोधी गतिविधि गरिरहेको नेपाल मजदुर किसान पार्टीलाई आगामी चार वर्ष विकासमा एकताबद्ध हुन आग्रह गर्दै त्यसपछि हुने चुनावमा राजनीतिक प्रतिपर्धामा आउन चुनौति दिनुभएको छ ।
उहाँले हरियो वन नेपालको धन भनिए पनि जंगलमा काठ कुहिएर खेर गएको बताउदै यसलाई सदुपयोग गर्न वनलाई उद्योगको रुपमा विकास गर्ने योजना सरकारले ल्याएको बताउनुभयो । चीन र भारतमा मात्रै नभई विश्व मै नेपालको कला र सीपको प्रर्दशन एवं माग भईरहेको बताउँदै उहाँले नेपालमा भने पछिल्लो पुस्तालाई सीप हस्तान्तरण गर्न चुनौती आईरहेको बताउनुभयो ।
सांसद बस्नेतले सीपको मापन र तालिम एवं आधुनिक प्रविधिको हस्तान्तरण आवश्यक रहेको औल्याउदै स्वदेशी बस्तुको उपयोगिता निर्देशिका लागू गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीलाई भक्तपुरमा आएको विकासको बिरोध नगर्न आव्हान गर्नुभएको छ । उहाँले विकासमा एकताबद्ध भएर आउन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो– “भक्तपुरमा आएका अन्तर्राष्ट्रिय रंगशाला लगायत ठूला विकासका योजनाहरुको बिरोध गर्दै आईरहेको छ, अब चारवर्ष हामीसँग विकासमा एकताबद्ध हुन आउनुहोस, त्यसपछि चुनावमा तपाईको पार्टीसँग राजनीतिक प्रतिस्पर्धामा उत्रिउला ।”
विकासबाट भाग्दै गएको नेमकिपाको विरोध कै कारण ३ नं. प्रदेश राजधानी भक्तपुर घोषणा हुनबाट रोकिएको बताउदै उहाँले भक्तपुरमा आउँन लागेका विकासका योजना फेरी फर्कने अबस्था आए नेमकिपालाई जनताले माफ नगर्ने बताउनुभयो ।
सांसद बस्नेतले ८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी भएको, मनोहरा पुल सूर्यविनायकसम्म अरनिको राजमार्गमा सयौं सौर्य बक्ति जडान गर्दै उज्यालो भक्तपुरको सपनालाई साकार पार्ने अभियान सुरु गरेको, हनुमन्ते नदी सरसफाइ अभियानले ४६ औ हप्ता र अरनिको राजमार्ग सफाई अभियान निरन्तर चलिरहेको, मध्यपुरथिमिको गठ्ठाघरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुनु लागेको, कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको, मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा जिल्लामा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढेको बताउनुभयो ।
उहाँले जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने सिंगो भक्तपुरलाई सफा र पर्यटकीय जिल्ला बनाउने आफनो योजना सुरु भएको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय समाचार समिति भक्तपुरका सम्वाददाता रमेश गिरीलाई रु. ३० हजार नगद सहित यसवर्षको “युवा पत्रकारिता पुरस्कार–२०७५”बाट सम्मान गरेको छ । डेढ दशकदेखि भक्तपुरमा रहेर निरन्तर रुपमा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन गर्दै पूर्वउद्योग मन्त्री समेत रहनुभएका सांसद बस्नेतले उहाँलाई खादा ओढाएर नगद सहितको सम्मान पत्र प्रदान गर्नुभएको हो ।










प्रतिक्रिया दिनुहोस्