राजनीति

प्रदेशको राजधानी र नाम टुंगो लगाउने गरी माघ दोस्रो साता अधिवेशन : मुख्यमन्त्री राई



विराटनगर, ३० पौष । प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले प्रदेशको राजधानी तथा नाम टुङ्गो लगाउने गरी माघको दोस्रो साता प्रदेश सरकारले माघ दोस्रो साता संसदको हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

आइतबार पत्रकार महासंघ प्रदेश १ ले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले आउँदो अधिवेशनबाट बिषयगत संसदीय समितिका सभापति पनि चयन हुने जानकारी गराउनुभयो ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अधिवेशन आह्वान नगरेको भन्दै आलोचना गरिरहेको अवस्थामा मुख्यमन्त्री राईले भन्नुभयो, ‘जनअपेक्षा अनुसार काम गर्न नसकिएकै हो’ राईले भने ‘ ५र६ महिना संरचना र कानुन बनाउदै बित्यो, अब जनताले अनुभूति गर्ने गरी काम गर्छौ ।’

मुख्यमन्त्री राईले जनताले अनुभूति गर्ने गरी कृषि, पन र वातावरणलाई जोडेर नयाँ अभियान सञ्चालन गर्ने समेत तयारी भइरहेको जानकारी गराउनुभयो । उहाँले खाद्यान्न, जडिबुटी, वनसँग सम्बन्धित रहेर प्रदेशको विकासको काम गर्दै समृद्ध प्रदेश बनाउने उद्घोष समेत गर्नुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिले नमुना ‘प्रदेश आम सञ्चार विधेयक’ मुख्यमन्त्री शेरधन राईलाई हस्तान्त्रण गरेको छ । प्रदेश सरकारलाई प्रेसमैत्री कानुन निर्माणका लागि महासंघले नमुना विधेयक हस्तान्त्रण गरेको हो ।