राजनीति

भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने : प्रम ओली



काठमाडौँ, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने जानकारी गराउनुभएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई सोमवार बालुवाटारमा सम्बोधन गर्नुहुँदै प्रधामन्त्री ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताउनुभो ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको जानकारी गराउनुभयो ।

पुनर्निर्माणका कानूनले औचित्यपूर्ण आवश्यकतालाई पूरा नगरे परिवर्तन गरिनेमा उहाँको जोड थियो । निजी आवास पुनर्निर्माणमा जोखिमपूर्ण वर्गमा परेकालाई प्राथमिकता दिने, अनुगमनलाई अझ प्रभावकारी बनाउने, स्थानीय तहसँग समन्वय गर्ने, दुई वर्षमै पुनर्निर्माणका काम सक्ने गरी बाँकी समयलाई उपयोग गरिने जानकारी गराउनुभयो ।

सांसदहरु पार्वत गुरुङ, पम्फा भुसाल, प्रेम सुवाल, यज्ञराज सुनुवार, अग्निप्रसाद सापकोटा लगायतले पुनर्निर्माणमा स्थानीय तहलाई जिम्मेवार बनाइनुपर्ने, खानेपानीको संरचना पुनर्निर्माणमा ध्यान दिइनुपर्ने, गुम्बाको पुनर्निर्माण हुनुपर्नेलगायत माग गर्नुभयो ।

भूकम्पपछि हालसम्म तीन लाख ४७ हजार ८१७ घर पुनर्निर्माण भएको छ । भूकम्पले आठ लाख ११ हजार १५४ घरमा क्षति पुगेको छ । क्षति पुगेका घर लाभग्राही सूचीमा समावेश भएका छन् । सात लाख ४९ हजार १५५ घरधनीसँग पुनर्निर्माणका लागि अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ । सात लाख ४१ हजार ७९९ लाभग्राही पहिलो किस्ताबापत रु ५० हजार बुझेका छन् । पाँच लाख ७८ हजार ८४७ घर पुनर्निर्माण शुरु भएको छ । ६१ हजार ५९१ घर प्रबलीकरण सूचीमा समावेश भएका छन् । प्रबलीकरण लाभग्राही सूचीमा परेकाले दुई किस्तामा रु एक लाख अनुदान पाउने कार्यविधि छ ।