काठमाडौँ, ४ माघ । अर्थमन्त्री डा. युवराज खतिवडाले अदालतमा मुद्दा दिने र त्यसको फैसलामा ढिलाइ हुँदा पनि कर असुलीमा समस्या भएको बताउनुभएको छ ।
दूरसञ्चार सेवा प्रदायक संस्थाहरुले करोडौंको कर छली गरेको विषयमा छलफल गर्न शुक्रबार संघीय संसदको अर्थ समितिको बैठकमा सहभागी हुनु भएका अर्थमन्त्री खतिवडाले अदालती फैसला ढिलाइ हुँदा हुने समस्या कसरी हटाउने भन्ने विषयमा पनि सरकारले कानुनमै आवश्यक संशोधन गर्न लागेको स्पष्ट पार्नुभयो । उहाँले त्यस सम्बन्धमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग आवश्यक छलफल गरिएको पनि बताउनुभयो ।
बैठकमा समितिका सदस्यहरुले दूरसञ्चार सेवा प्रदायक संस्थाहरुको कर असुली गर्न नसकेको भन्दै सरकारको आलोचना गरेपछि अर्थमन्त्री खतिवडाले यसमा अदालती झन्झट पनि हुने गरेको भन्दै त्यसो हुन नदिन आफूले कानुनीमै संशोधन गर्ने तयारी गरेको बताउनु भयो ।
उहाँले दोहोरो करमुक्ति सम्बन्धि प्रावधानले पनि कर असुलीमा समस्या परेको उल्लेख गर्दै समाधान गर्दै अघि बढने प्रतिवद्धता पनि समितिमा व्यक्त गर्नु भएको थियो । बैठकमा समितिका सदस्यहरुले एनसेलले कर छली गरेको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल असुली गर्न ठोस कदम चाल्न पनि सचेत गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्