राजनीति

सम्पदा बस्तीको संरक्षणमा भक्तपुर नपाबाट मध्यपुर थिमीले सिक्नुपर्छ : सांसद बस्नेत



भक्तपुर, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको सम्पदा बस्तीको संरक्षणमा भक्तपुर नगरपालिकाले गरेको कार्यबाट मध्यपुर थिमी नगरपालिकाले सिक्नुपर्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समितिको विशेष पहलमा आज भएको मौजदात कोष सञ्चालन निर्देशिका एवं फोहोर मैला तथा विद्युत पोल व्यवस्थापन विषयमा भएको छलफलमा सांसद बस्नेतले भक्तपुर नपाले पोखरी तथा विश्वसम्पदा सूचिमा रहेका सम्पदाहरुको संरक्षण अनुकरणीय रहेको बताउँनुभयो । उहाँले भक्तपुर जिल्लामा राजनीतिक नभई प्राकृतिक रुपले सिमाङ्कन गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

भक्तपुर जिल्लाको विकासमा सवै एक ढिक्का भई अघि बढ्नुपर्ने बताउँदै सांसद बस्नेतले विकासमा सहकार्य र सहयोगको विकल्प नभएको बताउनुभयो । उहाँले विभिन्न प्रविधिको प्रयोग गर्दै सफाई, विकास तथा तारमुक्त भक्तपुर बनाउन चार वटै नगरपालिकाले एकिकृत रुपमा अघि बढे समृद्ध भक्तपुर र सुखी भक्तपुरका नागरिक बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

विश्वलाई परिचित तथा पर्यटकिय विकासको मूख्य स्रोतको रुपमा रहेका भक्तपुरका सम्पदाहरुलाई संरक्षण तथा सम्बद्र्धन गर्नु वर्तमान समयको अपरिहार्यता रहेको बताउँदै सांसद बस्नेतले सफाई तथा सर्भिस ट्रयाकका कारण भक्तपुरमा दुर्घटना न्युनिकरण भएको बताउनुभयो ।

कार्यक्रममा सांसद बस्नेतले राधे राधेदेखि जडीवुटी पुलसम्म मध्यपुर थिमी नगरपालिकाले दुवो तथा सोलार वत्ती राख्ने कार्यको शुरुवात गरेको जानकारी गराउनुभयो । उहाँले भक्तपुर नपा र सूर्यविनायक नपाले पनि संयुक्त रुपमा प्रयास गरे राधे राधेदेखि साँगासम्म पनि दुवो तथा सोलार बक्तिको व्यवस्था गरी उज्यालो अरनिको राजमार्ग बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाको तर्फबाट कसैले पनि सहभागिता नजनाएको सूर्यविनायक नगरपालिका वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश नं. तीनका सदस्य प्रतिमा श्रेष्ठ, स्वरस्वती बाटी, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सूनपा, चाँगुनारायण नपाका वडाध्यक्ष, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो ।