काठमाडौँ, ८ माघ । सरकारले पत्रकार तथा कर्मचारीलाई न्यूनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारी सेवा सुविधाबाट बञ्चित गर्न सम्बद्ध निकायलाई पत्राचार गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार सूचना विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अलगअलग पत्रमार्फत् न्यूनतम पारिश्रमिक लागु भए–नभएको विवरण मागेको छ ।
सञ्चारमन्त्री गोकुल बास्कोटाले कात्तिक १ देखि लागू भएको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन भए–नभएको जानकारी मागेका छन् । त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई तत्काल अनुगमन गर्न समेत मन्त्रीले बास्कोटाले निर्देशन दिनुभएको छ ।
सरकारले कात्तिक १ देखि लागू हुने गरि राष्ट्रियस्तरका सञ्चार माध्यममा कार्यरत पत्रकारको न्यूनतम पारिश्रमिक मासिक २४ हजार ३ सय तोकेको छ । मिडियाका कामदार कर्मचारीको तलब १८ हजार न्यूनतम तोकिएको छ । अन्य सञ्चार प्रतिष्ठानका श्रमजीवी पत्रकारको तलब १७ हजार र कर्मचारीको १५ हजार तोकिएको छ ।
न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्ने सञ्चारगृहलाई सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र जारी नगर्ने र प्रेस काउन्सिलले अन्य सेवा सुविधा रोक्का गर्न सक्नेछ । सरकारले विज्ञापनसम्बन्धी नयाँ कानून बनाएर समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेका बेला श्रमजीवी पत्रकार ऐन र न्यूनतम पारिश्रमिक लागू नगर्ने सञ्चार गृहमाथि दबाव बढेको छ ।










प्रतिक्रिया दिनुहोस्