राजनीति

बहुमतको दम्भका कारण काम हुन सकेन : नेता पौडेल



पाल्पा, ८ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकार बहुमतको दम्भका कारण काम हुन नसकेको बताउनुभएको छ ।

प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले काम गर्ने उचित समय भएको बताउँदै वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको आरोप लगाउनुभयो ।

उहाँले वर्तमान सरकारले विकास, सुशासन तथा शान्ति सुरक्षा महसुस हुने गरी काम गर्न नसकेको आरोप समेत लगाउनुभएको छ ।

नेता पौडेलले सरकारको शिक्षा र स्वास्थ्यमा ठूलो लगानी भए पनि गुणस्तरीय सेवा पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा प्रदान गर्न सरकारको ध्यान पुग्न सकेको छैन ।”