काठमाडौँ, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको विशेष पहलमा सरकारले शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ ।
सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लाने क्रममा सुदूरपश्चिम प्रदेशको श्रम तथा रोजगार कार्यालय धनगढीबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ । श्रम कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ ।
श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गर्नुभएको थियो । सोहीअनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।
मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट पुनः श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराएको थियो । त्यस्तै सरकारले गत पुस २५ गतेदेखि गण्डकी प्रदेशको श्रम तथा रोजगार कार्यालयबाट पनि श्रम स्वीकृतिलगायत यससँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।










प्रतिक्रिया दिनुहोस्