काठमाडौं, ११ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको छ ।
आज बसेको प्रतिनिधिसभा बैंठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बहुमतले पारित भएको हो ।
कांग्रेस सांसदहरुले नाराबाजीकाबीच सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए । कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याए ।
रोष्टममा पुगेपछि मन्त्री पोखरलेले विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव पेश गरे । लगतै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने पास भयो ।
सभामुखले समय दिएपछि विधेयक पास होस् भन्ने प्रस्ताव पेश गरे । त्यसबेला कांग्रेस सांसदहरुले नाराबाजीका साथै होहल्ला समेत गरेका थिए । तर, सत्तारुढ नेकपाको बहुमत रहेको संसदले चिकित्सा शिक्षा विधेयक पास गरेको हो ।









