तनहुँ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीले अनशनको नाममा रडाको मच्चाइरहनुको कुनै औचित्य नभएको बताउनुभएको छ ।
तनहुँको दमौलीमा आज कार्यकर्तासँगको भेटघाटमा प्रवक्ता श्रेष्ठले चिकित्सा शिक्षा विधेयकमा डा केसीको पहिलेको मागहरु सबै सम्बोधन भइसकेको दावि गर्नुभयो ।
उहाँले डा. केसीको मागलाई विधेयकले पुरा गरी सकेको बताउँदै अनावश्यक कुराहरुको माग राखी डा. केसीले मेरु गोरुको वाह्रैटक्का जस्तो गरी अधिनाउकवादी शैली प्रयोग गरेको बताउनुभयो । उहाँले द्वन्द्वकालिन मुद्धाहरलाई डा. केसीले उठाउनु उनको व्यक्तिगत उचाइलाई घटाउने कार्य भएको बताउनुभयो ।
उहाँले पार्टी एकीकरणको सम्पूर्ण कार्य अवरुद्ध भएकाले पार्टीमा अराजकताले स्थान पाएको बताउनुभयो । उहाँले पार्टी सङ्गठन नबन्दा कार्यकर्तामा निराशा आएको भन्दै पार्टी सचिवालयको बैठकले एकीकरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने बताउनुभयो ।
कार्यदललाई एकीकरणको प्रक्रिया पूरा गर्ने जिम्मेवारी दिए पनि कार्यदलले कुनै निष्कर्ष निकाल्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठले अब सचिवालयले नै सबै काम टुङ्गो लगाउने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्