राजनीति

डा. केसीले राजनीतिक मुद्दा उठाएर आफ्नो उचाइ घटाए : मन्त्री पोखरेल



काठमाडौँ, १३ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीले राजनीतिक मुद्दा उठाएर आफ्नो उचाइ घटाएको बताउनुभयो ।

आइतबार काठमाण्डौमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले मन्त्री पोखरेलले सरकारको राजीनामा माग्ने लगायतको विज्ञप्ति जारी गरेर डा. केसीले आफ्नो उचाइ घटाएको पनि बताउनुभयो ।

उहाँले डा. केसीको जीवन रक्षको प्रश्न सरकारमाथि मात्र तेस्र्याउनेको कुनै औचित्य नभएको बताउनुभएको छ । उहाँले डा. केसीलाई आमरण अनसन फिर्ता लिन आग्रह गर्नु भएको छ । डा. केसी वरीपरि बसेकाहरुले पनि उहाँको जीवन रक्षाका लागि पहल गर्नुपर्ने जिम्मेवारी रहेको मन्त्री पोखरेलको भनाइ छ ।

उहाँले चिकित्सा क्षेत्रको सुधारकै लागि सो विधेयक प्रतिनिधिसभाबाट पारित गराएकाले त्यसमा डा. केसीले चित्त दुःखाउनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

मन्त्री पोखरेलले फागुन महिनाभित्र राष्ट्रिय शिक्षा नीति बनाइसक्ने घोषणा पनि गर्नुभयो । राष्ट्रिय शिक्षा नीति र त्यससँग सम्बन्धित ऐन निर्माणको काममा सहयोग गर्न पनि सरोकारवाला निकायलाई मन्त्री पोखरेलको आग्रह छ ।