राजनीति

प्रतिपक्षको भूमिका हिंसात्मक नभई रचनात्मक हुनुपर्छ : नेता नेपाल



नुवाकोट, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता माधवकुमार नेपालले प्रमुख प्रतिपक्षिदलको भूमिका हिंसात्मक आन्दोलन नभई रचनात्मक आन्दोलनको भूमिकामा हुनुपर्नेमा जोड दिनुभएको छ ।

खरानीटारमा भरतप्रसाद लामिछाने स्मृति प्रतिष्ठानको सातौँ वार्षिकोत्सव कार्यक्रममा आज उहाँले नेपाली काङ्ग्रेसलाई जिम्मेवार प्रतिपक्ष बन्न आग्रह गर्नुभएको हो । देशमा अहिले जिम्मेवार प्रतिपक्षको खाँचो भएको समेत बताउनुभयो । देशलाई समृद्धिमा लैजाने जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको बताउनुभयो ।

उहाँले नेपालले ठूला पार्टी एकीकरण हुँदा सानातिना अल्झनहरु आउने बताउँदै यसलाई मिलाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपाका तल्लो तहका सम्पूर्ण कमिटीहरुले छिट्टै पूर्णता पाउने बताउनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका बरिष्ठ नेता नेपालले चिकित्सा शिक्षा विधेयकले डा गोविन्द केसीले राखेका सबै माग पूरा भएको दावि गर्नुभयो । उहाँले केही माग छुट भएको भए सम्बोधन गर्न सरकार तयार रहेको समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा २० ज्येष्ठ नागरिकलाई नगदसहित सम्मान गरिएको थियो । यस्तै सोही कार्यक्रममा तादी भ्यू एकेडेमीलाई कम्प्युटर प्रदान गरिएको थियो ।