काठमाडौँ, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दिनमा विकास निर्माणका कार्यमा ढिलाई भए चुप लागेर बस्न नसक्ने बताउनुभएको छ ।
बुधबार चिनिया सरकारको सहयोगमा निर्मित कोटेश्वर–कलंकी सडक हस्तान्तरण समारोहमा उहाँले विकास निर्माणका काममा कुनै समस्या देखिए तत्काल समाधान गर्ने बताउनुभयो । विगतमा जे भए पनि अब विकास निर्माणका काममा कुनै समस्या आउन नदिने बताउनुभयो ।
कलंकी कोटेश्वर सडक निर्माणमा विभिन्न समस्याका कारण भएको ढिलाइप्रति आफू दुखी भएको बताउँदै प्र्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विकास हामीलाई चाहिएको छ, यही सडक बन्दा पनि विभिन्न समस्या आएको कुरा राजदूतले भन्नुभयो’ प्रम ओलीले भन्नुभयो, ‘तलबाट काम भएन भने मन्त्रिपरिषदमा आउनुपर्यो, कानून बाधक बन्यो भने संशोधन गर्नुपर्यो, तर विकास निर्माणमा कुनै पनि समस्या हुनुभएन ।’
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हु यांकीले विभिन्न समस्याका कारण कलंकी कोटेश्वर सडक निर्माणमा केही ढिलाइ भएको बताउनुभयो । राजदूत यांकीले नाकाबन्दी, इन्धन अभावलगायतका कारण केही समस्या भएकाले ढिलाइ भएको बताउनुभयो ।
चक्रपथको कलंकी कोटेश्वर सडकको १० दशमलब ३९ किलोमिटर सडक विस्तारको कार्य हालै सम्पन्न भएर चीन सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । ५ वर्ष लगाएर ५ अर्ब लागतमा विस्तार गरिएको ८ लेनको यो सडक–खण्ड चिनियाँ अनुदानमा निर्माण भएको हो ।










प्रतिक्रिया दिनुहोस्