काठमाडौँ, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताउनुभएको छ ।
शहीद दिवसका अवसरमा आज सन्देश जारी गर्दै उहाँले राणाशासविरुद्ध १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताउनुभएको छ ।
सन्देशमा भन्नुभएको छ, “पुस्तौँदेखि अनवरत रुपमा लोकतन्त्रका निम्ति सङ्घर्ष गर्दै नेपाली समाज सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ युगमा आइपुगेको छ । राजनीतिक सङ्क्रमण सम्पन्न गरी हामी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लगि केन्द्रीकृत भएका छौँ ।”
उहाँले समाज रुपान्तरण र देश निर्माणको प्रक्रियामा सहभागी भएमा मात्र शहीदप्रति सच्चा श्रद्धान्जलि व्यक्त गरेको ठहरिने बताउँदै देशको आर्थिक सामाजिक रुपान्तरणको प्रक्रियामा सहभागी भई नेपाल आमाका ती महान् सपूतप्रति साँचो अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सबैमा आह्वान गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्