राजनीति

रोजगारीका अवसर सिर्जनासँगै श्रमको सम्मान, मानिसको सोचाइमा परिवर्तन अपरिहार्य : मन्त्री विष्ट



काठमाडौँ, १९ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारीका अवसर सिर्जनासँगै श्रमको सम्मानका लागि अभियान चलाउने सरकारको तयारी तथा कुनै पनि व्यक्ति र समाजको सोचाइमा परिवर्तन अहिलेको अपरिहार्यता भएको बताउनुभएको छ ।

उद्यमीसँगको छलफलाई कार्यक्रममा बोल्दै मन्त्री विष्टले सरकारले श्रमको सम्मान गर्ने परिपार्टीको विकास गर्दै आन्तरिक श्रम बजारमा प्रशस्त रोजगारीका अवसर सिर्जना गर्न सकिने उपायहरुको खोजि गरिरहेको बताउनुभयो ।

श्रम गर्ने व्यक्तिलाई सम्मान तथा काम नगर्ने व्यक्तिलाई अपमानित गर्ने संस्कृति स्थापित नगर्दासम्म श्रमप्रति सम्मान नहुने मन्त्री विष्टले बताउनुभयो । मन्त्री बिष्टले सरकार पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरी आन्तरिक श्रम बजारमै रोजगारीका अवसर उपलब्ध गराउन क्रियाशील रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “काम सानोरठूलो हुँदैन । काम स्वयम्मै सम्मानित हुन्छ भन्ने भावनाको विकास गर्न जरुरी छ । श्रम नगर्ने व्यक्तिको आर्थिक हैसियत रातारात बदलिने तर सरकार काम गर्ने, जोखिम मोल्ने तथा श्रम गर्नेको जीवनमा परिवर्तन नआउने अवस्थालाई बदल्न चाहन्छ । बाल्यकालदेखि नै श्रमप्रति सम्मान जगाउने गरी पाठ्यक्रममा परिवर्तन गर्ने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो, “मन्त्रालयले सबैमा श्रमप्रतिको भावना जागृत गराउन लेखक, कलाकार, साहित्यकार, पत्रकार, युवा उद्यमी, सामाजिक अभियन्ता लगायतसँग छलफल गरिरहेको छ ।”

छलफलमा कवाडीका सामग्री सङ्कलन गर्ने, टुटल, फुडमारियालगायत रङ्गमञ्च, कृषि, प्रविधिको क्षेत्रमा व्यवसाय गरीरहेका युवा उद्यमीको सहभागिता थियो ।