भक्तपुर, १९ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न मौदानमा जमिन छ कि छैन भन्ने भन्दा पनि दिमागमा छ कि छैन भन्ने महत्वपूर्ण हुने बताउनुभएको छ ।
आज भक्तपुर (आइटिएफ) तेक्वान्दो संघले आयोजना गरेको पाँचौ भक्तपुर अन्तरविद्यालय (आइटिएफ) तेक्वान्दो प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै सांसद बस्नेतले जग्गा एकिकरणको माध्यमबाट एक हजार रोपनी जग्गाको व्यवस्थापन गर्ने रंगशाला निर्माण तथा खेलकुद क्षेत्रको विकासको लागि तयार भइरहेको बताउनुभयो ।
नेपालले विश्वलाई चुनौति दिने एकमात्र माध्यम खेलकुद भएको बताउँदै सांसद बस्नेतले आर्थिक रुपमा कमजोरी भएता पनि नेपाल खेलकुदमा धनी देशको रुपमा चिनिएको बताउनुभयो । नेपालको सवैभन्दा ठूलो रंगशाला भक्तपुरमा नै निर्माण भएरै छाड्ने बताउँदै सांसद बस्नेतले रंगशाला, कर्वोडहल लगायतका खलकुदसँग सम्बन्धीत पूर्वाधारको विकास भक्तपुरमा भइरहेको जानकारी गराउनुभयो ।
हक र अधिकारलाई संस्थागत गर्नु नै राजनीतिक आन्दोलनको महत्वपूर्ण उपलब्धी भएको बताउँदै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले संघिय संरचनाको विकाससँगै खेलकुदले तिव्र रुपमा फड्को मारेको बताउनुभयो । उहाँले नेपालको आवश्यकता तथा खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग निरन्तर गरिरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
खेलाडी तथा विद्यार्थीलाई समाज परिवर्तनसँग जोड्न चाहेको बताउँदै सांसद बस्नेतले अरनिको राजमार्ग सफाई, हनुमन्ते नदी सफाई अभियानमा जनप्रतिनिधि, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, खेलाडी, विद्यार्थी, राजनीतिक दल, विभिन्न संघसंस्था लगायतको जागरुकता नै भक्तपुरको सफाई अभियान देशकै उदाहरणीय भएको बताउनुभयो ।
गुड्का तथा प्लास्टिकजन्य बस्तुलाई सकेसम्म निषेध गर्नुपर्ने बताउँदै सांसद बस्नेतले विद्यार्थीको यो उमेरमा शुद्धता र नैतिक बल हुने भएकोले सामाजिक विकासको ज्ञान आवश्यक रहेको बताउनुभयो ।
उहाँले हनुमन्ते नदी सफाईको ५१औं हप्ता फागुन ४ गते शनिवार नेपालको राष्ट्रिय झण्डोत्तलन गर्ने जसको लागि नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ल्याउने तयारी भइरहेको समेत जानकारी गराउनुभयो ।
सांसद बस्नेतले भक्तपुरमा समागृह, अन्तराष्ट्रिय रंगशाला, सुरुङ मार्ग, प्राणी उद्यान केन्द्र, कवोर्डहल, सुविधा सम्पन्न वीर अस्पताल, अरनिको राजमार्ग विस्तार लगायतका धेरै राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको बताउँदै आगामी दिनमा खेलाडीले खेलमैदानको लागि, विद्यार्थीले रोम्रो विद्यालयको खोजिको लागि, विरामीले राम्रो अस्पतालको खोजिको लागि भौतारिनुपर्ने दिनको अन्त्य हुने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्