समाचार

देशभर शनिबारसम्म पानी पर्ने



काठमाडौं, २४ माघ । काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भइरहेको छ भने दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानहरुमा हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिम वायुले ल्याएको न्यून चापीय प्रणालीको असरले अहिले काठमाडौं उपत्यकासहित पश्चिम क्षेत्रमा वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, न्यून चापीय प्रणालीका असरले काठमाडौंलगायत देशका पूर्वीभेगमा शनिबारसम्मै वर्षा भइरहने जनाएको छ । सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ ।

पश्चिमी वायुको प्रभावले उच्च पहाडी भागमा भारी हिमपात हुने र पहिरो पनि जाने खतरा भएकाले मौसमविदले केही दिन ट्रेकिङ नजान समेत आग्रह गरेका छन ।