राजनीति

गुट्का र प्लास्टिकको प्रयोगलाई निषेध गर्नुपर्छ : सांसद बस्नेत



काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वातावरण प्रदुषणको मूख्य कारण गुट्का र प्लास्टिकको प्रयोग भएकाले त्यसलाई तत्कालै निशेध गर्नुपर्ने बताउनुभएको छ ।

आजको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले गुट्का र प्लास्टिकका खोलका कारण फोहोर अत्याधिक हुने गरेको बताउनुभयो । उहाँले प्लास्टिकको खोललाई अतिरिक्त मूल्य लगाउनु पर्ने र खोल फिर्ता गरेवापत उक्त अतिरिक्त मूल्य फिर्ता दिने वातावरण बनाउनुपर्ने माग गर्नुभएको छ ।

पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले बागमती सफाईको ३००औं हप्ता पुगेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितीमा भव्य रुपमा मनाउने तयारी रहेको समेत जानकारी गराउनुभयो ।

उहाले भन्नु भयो, ‘खाद्यबस्तुको प्याकिङमा प्रयोग हुने प्लास्टिकमा अतिरिक्त मूल्य लगाई यसको व्यवस्थापन गर्न सकिन्छ । जस्तैः मानौं, अहिले चाउचाउको बजारमूल्य १५ रुपैयाँ छ भने त्यसलाई १६ रुपैयाँ बनाई चाउचाउको खोल फिर्ता ल्याउने उपभोक्तालाई ऊसँगै लिएको १ रुपैयाँ फिर्ता दिने व्यवस्था गर्ने हो भने प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन गर्ने अभियानले सार्थकता पाउनेछ ।’

उहाँले हनुमन्ते नदी सफाई अभियान ५० औं हप्ता पुगेको बताउँदै मनोहरा तथा अरनिको राजमार्ग, चक्रपथ, फेवाताल लगायतका देशै भरी सफाई अभियानहरु सञ्चालन भइरहेकाले सरकारले सफाई अभियान व्यवस्थित ढंगले योजनावद्ध रुपमा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

समृद्ध नेपाल निर्माणको मुख्य आधार सफाई भएकाले नदी, राजमार्ग तथा वातावरण प्रदुषण बनाउने नै गुटका र प्लास्टिक भएकाले यसको विकल्प नखोजसम्म त्यो पुरा हुन नसक्ने बताउँदै सांसद बस्नेतले राज्यका तीनै तहले सफाईलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।