बर्दिवास, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा कृषिबाट खोज्ने समृद्धि वैज्ञानिक र व्यवहारिक हुने बताउनुभएको छ ।
महोत्तरीको बर्दिवासमा शुक्रबार सम्पन्न आधारशिलाको १६औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा वरिष्ठ नेता नेपालले कृषिमा नयाँ प्रविधिको विकासले मात्र मुलुकको समृद्धि हासिल गर्न सक्ने बताउनुभयो । उहाँले नेपालको समृद्धिका लागि नयाँ कृषि क्रान्ति अपरिहार्य भएको बताउनुभएको छ ।
उहाँले दक्ष जनशक्ति बढाएर मुलुकभित्रै आफ्नो सीप र दक्षता उपयोग गर्नसक्ने अवसर पछिल्लो पुस्ताले पाउन सकेमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले सार्थकता पाउन सक्ने बताउनुभयो । नेता नेपालले किसानले समयमा बीउ र मल पाउने, उत्पादित वस्तुको उचित मूल्यसहितको बजारको ग्यारेण्टी र पछिल्ला प्रविधिमा किसानको पहुँच नभएसम्म समृद्धि अभियानले गति लिन नसक्ने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्