समाचार

भारी हिमपातका कारण हवाई सेवासहित विद्युत् आपूर्ति बन्द



हुम्ला, २६ माघ । हुम्लामा आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ ।

विहीबारदेखि उडान बन्द भएको छ । हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एकहप्ता लाग्ने विमानस्थल स्रोतले बताएको छ ।

विहीबार रातिदेखि हिमपात र हुरीले हुम्लाका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न कठिनाइ भएको छ । हिमपातले बालबालिका, वृद्धवृद्धालाई शौचालयसम्म जान समेत समस्या भएको छ ।

चैतमा हुने एसइईको तयारी कक्षा लिँदै आएका विद्यार्थीको ट्युसनसमेत बन्द भएको छ । भारी हिमपातले विद्यार्थीलाई ट्यिुसन कक्षा जान समेत समस्या भएकाले तयारी कक्षा प्रभावित भएको जनाएका छ ।

साथै हिमपातले र हुरीले कतै पोल ढल्नुका साथै तार चुँडिएकाले विद्युत् आपूर्ति बन्द भएको छ । विद्युत् बन्द हुँदा सिमकोटमा रहेको सामुदायिक रेडियोसमेत बन्द हुनुका साथै विद्युत्मार्फत सञ्चालन हुने विद्युतीय कामसमेत बन्द भएको जनाएको छ ।