गोरखा, २७ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिसिभाका सांसद गगनकुमार थापाले पार्टीको महाअधिवेशनमा महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई-अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वमन्त्री समेत रहनुभएका सांसद थापाले काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण नभएको बताउँदै सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशन गराई पार्टीको गतिविधिलाई व्यापक गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर सङ्गठन बनाउन लाग्नुपर्छ ।”
नेता थापाले पार्टीको आगामी महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने भन्दै त्यसका लागि आफू सभापति लड्न पनि तयार रहेको बताउनुभयो ।
अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उहाँहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने जिकिर गर्नुभयो । “युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु”, उहाँले भन्नुभयो, “अब पुराना नेतालाई बढो सम्मान दिएर राख्नेछौँ ।”
नेता थापाले अहिलको काङ्ग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्