पर्वत, २८ माघ । आफ्नो जिल्ला तथा गण्डकी प्रदेशले नै विकास निर्माणले अझै धेरै ठूलो फड्को मार्ने विश्वासका साथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृहजिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ ।
सामुदायिक रेडियो दिदीबहिनीले आयोजना गरेका पर्वत सदरमुकाम कुश्माबजारमा आइतबारदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको उद्घाटनका अवसरमा उहाँलाई सम्मानपत्र, दोसल्ला, फूलमाला र खादा लगाएर आयोजक तथा महोत्सवमा सहभागी अतिथि र दर्शकले अभिनन्दन गरेका हुन् ।
गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न तथा पर्वत जिल्लाकै इतिहासमा राज्यको सबैभन्दा ठूलो तहमा पुग्न सफल हुनुभएको भन्दै जिल्लाको विकास निर्माणले अझै फड्को मार्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पञ्चायतविरुद्धको आन्दोलनमा पर्वतका प्रत्येक गाउँवासीले माया गरेको, आश्रय दिएको र आफूलाई बचाएका कारण नै आफू यो स्थानमा पुग्न सकेको बताउनुभयो । उहाँले संयोगले आफ्नो कार्यकाल पनि छ वर्षको भएकाले कार्यकालभरि पर्वतवासीका आशा र अपेक्षा पूरा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
महोत्सवकै अवसरमा पर्वत जिल्लामा जन्मिएर राज्यका विशिष्ट श्रेणीमा पुग्ने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका प्रस्तावित अध्यक्ष बालानन्द पौडेल, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल प्रहरीका पूर्वडिआइजी ज्ञानेद्रविक्रम महतलगायतलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्