राजनीति

अध्यक्ष प्रचण्डको उपस्थितीमा हनुमन्ते नदी सफाइको ५१औँ हप्ता मनाइने



भक्तपुर, १ फागुन । देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ताको विशेष अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल तथा नेपाली कांग्रेसका नेता प्रकासमान सिंह, राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको आतिथ्यतामा वाकाथुन तथा झण्डोत्तलन गर्दै भव्यरूपमा मनाइने भएको छ ।

आज काठमाडौँका रिपोर्टर्स क्लबमा हनुमन्ते नदी सफाई मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा यही फागुन ४ गते बिहान ७ बजे मध्यपुर अस्पतालको दक्षिणतर्फ रहेको मध्यपुरथिमि र सूर्यविनायक नगरपालिकाको सिमानास्थित हनुमन्ते नदीको पुलबाट सफाइ अभियान सञ्चालन हुने नेकपाका युवा÷प्रभावशाली नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जानकारी गराउनुभएको छ ।

कार्यक्रममा बोल्दै सांसद बस्नेतको ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर र जाममुक्त भक्तपुर’ बनाउने लक्ष्यका साथ सफाइ अभियानले ५०औँ हप्ता पार गर्दा सरकारको विनालगानी देशकै नमूना सफाइ अभियानको रूपमा परिचित बन्न सफल भएको बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद बस्नेतले १०० हप्ताको हनुमन्ते सफाइ अभियानले वाग्मतीको सहायक नदीको रुपमा बग्ने हनुमन्ते नदी सफाइ अभियानले अरनिको राजमार्गदेखि नगरपालिकाका वडावडामा समेत सफाइ अभियान सञ्चालन गर्न सफल भएको बताउनुभयो ।

उहाँले नदी तथा राजमार्ग सफाई अभियानले केवल प्लास्टीक टिप्ने मात्र नभई समग्र भक्तपुरको शुसास र समृद्धिलाई समेत ध्यान दिई अघि बढिरहेको बताउनुभयो । उहाँले अभियानलाई केन्द्रविन्दु बनाई विकास निर्माणको अनुगमन, विकृति तथा विसंगतिको अनुगमन साथै नियन्त्रण, सडक अतिक्रमलाई रोक्ने कार्य, जग्गा एकिकरण आयोजना लगायतका कार्यहरुको अनुगमन तथा मूल्याङ्ककन समेत गरी समृद्ध भक्तपुर बनाउने जनताको चाहनालाई पुरा गर्ने प्रकृयामा अघि बढेको बताउनुभयो ।

हनुमन्ते सफाइ अभियानले नै अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँटोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको सांसद बस्नेतले बताउनुभयो । उहाँले उक्त कार्यक्रममा करिव दुई हजार जना भन्दा बढीले वाकाथुन गर्ने, झण्डोत्तलन गर्ने, विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्ने समेत जानकारी गराउनुभयो ।