काठमाडौँ, ३ फागुन । नेपालको इतिहासमा नै सवैभन्दा ठूलो बडी विल्डर्सको ओलम्पीक छनौट खेलका लागि दुनियाँकै सवैभन्दा ठूलो ज्यान भएका Roelly Winklaar नेपाल आउनुभएको छ ।
रोली विङ्कलार खेल क्षेत्रका लागि मात्र नभएर नेपालको पर्यटन क्षेत्रलाई पनि सघाउ पुग्ने एक विश्व चर्चित पात्र नेपाल आएका छन् । सानु गुरुङको समन्वयमा हुने ‘आइएफबिबि प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ मा सहभागी हुन उनी बिहिबार नेपाल आइपुग्नुभाएको हो ।
नेपाली खेलकुदमा पहिलो पल्ट यस्तो आयोजना हुन लागेको आयोजकहरुले बताएका छन् । प्रतियोगिता ४ फागुनमा काठमाडौको प्रज्ञा भवनमा हुनेछ । प्रतियोगितामा विश्वका १५ देशका खेलाडीहरुले अनलाइन फाराम भरेको तर कति खेलाडी आउँछन् भन्ने निश्चित नभएको आयोजकहरुले बताएका छन् । उक्त प्रदर्शमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत अवलोकन गर्नुहुने बताइएको छ । उक्त खेलको फाइनल भने अगस्ट महिनामा अमेरिकामा हुने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोलीलाई नेपालका पूर्वबडी बिल्डर तथा आईएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरेका थिए ।
विश्व बडिबिल्डिङमा सबैभन्दा ठूलो शरीर भएका खेलाडी मानिने रोलीको पाखुरा मात्र २४ इन्च, छाति ६० र तिघ्रा ४८ इन्च छ । वर्षमा केही पटक मात्र प्रतियोगितामा सार्वजनिक रुपमा देखिने गरेकाले पनि रोलीको नेपाल आगमनलाई महत्वपूर्ण मानिएको छ ।
नेपालमा उनी आइएफबिबि प्रोफेसनल लिगको ‘प्रो क्वालिफायर’मा ‘गेष्ट पोजर’को हैसियतमा देखिने छन् । ‘प्रो क्वालिफायर’मा ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडिबिल्डिङ’ र ‘ओमन फिजिक’ गरि चार वटा प्रो कार्डका लागि प्रतिस्पर्धा हुँदैछ । प्रो कार्ड पाउने चार खेलाडीले अमेरिकाको लस भेगासमा हुने ‘मिस्टर ओलम्पिया’मा भाग लिन पाउँछन् ।
आइएफबिबीको आयोजनामा हुने उक्त खेलको निम्ती रोली नेपाल आउनुभएको हो । उहाँलाई आज साँझ प्रतिनिधिसभाका सांसद विशाल भट्टराई, पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, नागरिक समाजका प्रतिनिधि, पत्रकार लगायतको टोलीले भब्य रुपमा स्वागत गरेका छन् ।
पर्यटन बोर्ड, भिजिट नेपाल २०२०, खेलकुद परिषद्, नर्भिक अस्पताल, काठमाडौँ महानगरपालिका लगायतका संघ संस्थाहरुद्वारा प्रवर्धन गरिएको उक्त आयोजनामा व्यवस्थापनको पक्ष भने युवा संघ नेपालले मूख्य निर्वाह गर्ने भएको छ ।
प्राकृतिक सुन्दरता, भौगोलिक विविधता लगायतका विभिन्न क्षेत्रमा नेपाल विश्वकै उत्कृष्ट रहेको बताउँदै खेलकुद क्षेत्रको विकासले देशको आर्थिक तथा पर्यटकिय विकास हुने सांसद भट्टराई तथा अध्यक्ष पौडेलले बताउनुभयो ।
उहाँहरुका अनुसार नेपालमा खेलकुद क्षेत्रको विकास र विस्तार गर्न सके आर्थिक, सामाजिक, पर्यटकिय विकास गर्दै समृद्ध नेपाल : सुखी नेपालीको अभियानलाई सार्थकता तुल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
खेलकुद क्षेत्र नै आर्थिक विकासको मेरुदण्ड रहेको बताउँदै उहाँहरुले नेपालमा अन्तर्राष्ट्रिय खेलकुदको आयोजनालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँहरुले आयोजक तथा खेलाडीलाई विशेष धन्यवाद दिँदै आगामी दिनमा आफ्नो तर्फबाट आवश्यक सहयोग निरन्तर रहने समेत बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्