राजनीति

विभेदकारी शिक्षा नीतिविरुद्ध लड्छु : सांसद पहारी



पोखरा, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नकेपा)को भातृ संगठन युवा संघ नेपालका निवर्तमान अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले कुनै गाँउ टोल विद्यालय नै नरहने गरी आउने शिक्षा नीतिविरुद्ध आफुले संसदमा आवाज उठाउदै उक्त विभेदकारी शिक्षा नीतिलाई कार्यान्वयन हुन नदिने बताउनुभएको छ ।

सांसद पहारीले शुक्रबार पोखरा २२ का पुम्दी-भुम्दी स्थित भगवती आधारभुत विद्यालयको पर्खाल तथा खेल मैदान उद्घाटनको कार्यक्रममा बोल्दै सांसद पहारीले जनताको चाहना र आवश्यकता अनुसारको शिक्षा नीति आवश्यक रहेको भन्दै उहाँले विद्यार्थी कम भएको बहानामा ग्रामिण भेगका विद्यालयलाई विस्थतपीत गर्दै मर्ज गर्ने प्रकृया गलत भएको बताउनुभयो ।

उहाँले आफु निर्वाचित जनप्रतिनिधिभएको हैसियतले त्यस्ता विभदेकारी शिक्षा नीतिको सर्वप्रथम आफै संसदमा आवज उठाउने बताउनुभयो । उहाँले भन्नुभयो, “म तपाईहरुको निर्वाचित जनप्रतिनिधि हुँ, विद्यालय मर्ज गर्ने नाममा भगवती विद्यालय जस्ता विद्यालयलाई कुनै पनि हालतमा खारेज वा मर्जमा लैजान आवश्यक छैन्, यदि २ सय बिद्यार्थी नभएका विद्यालय खारेज गर्ने नीति आउन लागेमा त्यसको पहिलो बिरोध म गर्छु, कुनै पनि हालतमा कार्यान्वयन गर्न दिईदैन ।”

गण्डकी प्रदेशको शिक्षा नीति गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले तयार पार्दैछ । उक्त स्थानका स्थानीयवासीहरु आफ्नो गाँउ टोलमै रहेको विद्यालय बिस्थापित हुने भन्दै चिन्तित भएका वेला उहाँले भन्नुभयो, “विद्यार्थी बिस्तारै बढ्दै गएका विद्यालयमा सरकारले विशेष अनुदान दिनु पर्छ , त्यो दिलाउने तर्फ म लाग्ने नै छु, जस्तो सुकै कुर्वानी गर्न तयार छु तर भगवती जस्ता गुणस्तरीय विद्यालय खारेज हुदैनन्।”

वर्तमान समयमा गुणस्तरिय शिक्षा आवश्यक रहेको भन्दै सांसद पहारीले आगामी दिनमा व्यवहारीक तथा प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभयो । देश विकासको मेरुदण्डको रुपमा शिक्षा रहेको बताउँदै सांसद पहारीले नेपालको शैक्षिक प्रणालीलाई परिवर्तन गर्दै समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

केहि समय अघि पोखरा २२ को शुक्रराज माविको स्वर्ण महोत्सवको अवसरमा गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले न्यूनतम २ सय विद्यार्थी नभएका विद्यालयहरुलाई खारेज गर्ने भनि अभिव्यक्ति दिनुभएको थियो । उहाँको उक्त अभिव्यक्ति कार्यान्वयनमा आए स्थानीयवासीमा समस्यामात्र नभई देशको शक्षिक वृद्धिदर समेत खस्कने देखिए पछि सांसद पहारीले त्यसको विरुद्धमा आफु सदमा खम्बाको रुपमा प्रस्तुत हुने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङले प्रदेश सरकारले आफुहरुले संचालन गरेका जस्ता विद्यालयहरुको राम्रो अध्ययन अनुसन्धान विना कोठामा बसेर बनाएको कानुन आफुहरुले कार्यान्वयन गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो “पोखरा २२ मा कुन विद्यालयमा २ सय बिद्यार्थी सङख्या पुग्छ, त्यसो भए अब हाम्रा बिद्यार्थीहरु छोरेपाटन, जनप्रिय, पार्दी जस्ता विद्यालयमा अध्ययनको लागि पठाउने, कानुन हाम्रो लागि हो की नेताहरुको लागि रु हामीलाई यस्तो निर्णय कुनै हालतमा मान्य छैन ।”

माघमा करिब १८ लाखको लागतमा पर्खाल लगाउदै गर्दा एकाएक पर्खाल भत्किएकोमा ५५ लाख ५२ हजार ७ सय १२ रुपैयाको लागतमा पुनः निर्माण गरिएको पर्खालसहितको खेल मैदानको शुक्रबार उद्घाटन गरिएको हो ।

उक्त योजना सफल पार्न पोखरा महानगरपालिकाबाट २० लाख, सुइजरल्याण्डबाट १३ लाख ६९ हजार ६ सय ४८, राईट फर चिल्ड्रेनबाट १२ लाख ९२ हजार ४३ रुपैया आर्थिक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशचन्द्र गुरुङले जानकारी दिनुभयो ।

स्थानिय रविन्द्र गुरुङको समन्वयमा सुजरल्याण्डका वेरटो, ब्याक वारेन आउटलेटको तर्फबाट उर्सुला मोसार, सुजरल्याण्डकै मार्सोल मुलर बशेल र सुजरल्याण्डको कि वानीज क्लव रिचेनले बिद्यालयलाई सहयोग गरेका हुन् ।