राजनीति

जनताले तिरेको करबाट हनुमन्ते नदीको कोरिडोर निर्माण : सांसद बस्नेत



भक्तपुर, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले जनताले तिरेको करबाट हनुमन्ते नदीको कोरिडोर निर्माण भएको बताउनु भएको छ ।

आज भक्तपुरमा सञ्चालनमा रहेको हनुमन्ते नदी सफाई अभियानको ५१औं हप्ता तथा राष्ट्रिय झण्डोत्तलन विशेष कार्यक्रममा बोल्दै सांसद बस्नेतले मालपोतमा जग्गा पास गर्दाको ०.५ प्रतिशत रकमको माध्यमबाट हनुमन्ते नदीको कोरिडोर पहिलो वर्ष ८१ करोड रुपौयाँमा शुरु गरिएको जानकारी गराउनुभयो ।

उहाँले उक्त कोरिडोर तीन चरणमा गरिने बताउँदै बालकुमारी चोकबाट जगातीसम्म अरनिको राजमार्गको समानन्तर सडक बनाउँदै अरनिको राजमार्गमा हुने सवारी जामलाई सदाको लागि अन्त्य गर्ने उद्घोष गर्नुभयो । साथै सल्लाघारीको ट्राफिक आईलाइनमा राष्ट्रिय झण्डोत्तलन प्रतिरोध गर्ने चेतावनी दिनु नेमकिपाको संक्रिणता भएको बताउनुभयो ।

सांसद बस्नेतले लक्षीत उद्देश्यमा पुग्न जनचेतनाको साथमा मनचेतनाको विकार अपरिहार्य रहेको बताउँदै सांसद बस्नेतले सफाई अभियान प्लास्टिक र फोहोर टिप्ने मात्र नभई चेतना, मन मस्तिष्क सफा गर्ने, सचेत गराउने, हिंसा, लागुऔषध नियन्त्रण, सुरक्षित, अपराधमुक्त, विकास निर्माणको अनुगमन तथा निरिक्षण लगायतका कार्यहरु समेटिएको अभियान भएको बताउनुभयो ।

अभियानकै माध्यमले सूर्यविनायकदेखि साँगासम्मको सर्भिस ट्याक खुलेको साथै हनुमन्ते नदीको दायाँ बायाँ ढल लगाउने कार्य समेत तिव्र गतिमा अघि बढेको सांसद बस्नेतले जानकारी गराउनुभयो । त्यस्तै उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत तिव्र गतिका साथ निर्माण कार्य अघि बढेको बताउँनुभयो । उहाँले भक्तपुरमा निर्माण हुने अन्तर्राष्ट्रिय रंगशाला, कवोर्ड हल, प्राणी उद्यान केन्द्र, सभागृह, सुरुङ मार्ग लगायतका सडक, पुल निर्माण सम्पन्न भए पश्चात भक्तपुरको मुहार फेरिने र नेपालकै नमुना जिल्लाको रुपमा विकास हुने बताउनुभयो ।

देशमा संघियता कार्यान्वयनको चरमा रहेको बताउँदै सांसद बस्नेतले भक्तपुरमा सञ्चालनमा रहेको सफाई अभियानबाटै सिंहदरवारलाई गाउँ गाउँमा पुर्याउने उद्देश्य अनुरुप हिजोदेखि सूनपा वडा नं. ७ गुण्डुमा ३८ सय जनतालाई सेवा प्रदान गरेको जानकारी गराउनुभयो । उहाँले शिविरबाट आधारभुत तहका जनताले विना भ्रष्टाचार, विना झनझट सेवा प्राप्त गरेको समेत बताउनुभयो ।

सफाई अभियानले भक्तपुरमा हुने विभिन्न प्रकारका विकास निर्माण, हिंसा, पर्यटकिय, दुर्घटना न्युनिकरण, भ्रष्टाचार, सार्वजनिक स्थलमा हुन विभिन्न प्रकारका विकृति तथा विसंगति लगायतको अनुगमन तथा मुल्याङ्कन गर्दै कानुनी उपचारको बाटो खोज्ने अभियान समेत भएको बताउनुभयो ।