Banner News

कर्मचारी समायोजन लगत्तै नयाँ भर्ना प्रकृया शुरु : मन्त्री पण्डित



काठमाडौँ, ५ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताउनुभएको छ ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले शनिबार नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ आँै आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहमा उहाँले ‘लोक सेवा आयोगलाई नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न आग्रह गरिसकेको बताउनुभयो । उहाँले समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना शुरु हुने जानकारी गराउनुभयो ।

मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसदबाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसद्मा पेश गर्ने बताउनुभयो ।

उहाँले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाउनेसमेत बताउनुभयो । ‘‘यसपटक समायोजनको काम प्रविधिबाट भएको छ । अब सबै कुरा सफ्टवेयरबाट काम गर्दैछु’’ उहाँले भन्नुभयो, ‘‘सरुवा प्रणाली पनि सफट्वेयरबाट विकास गर्न लागेको छु ।’’

उहाँले राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताउनुभयो । मन्त्री पण्डितले कर्मचारीलाई अनुशासन र जिम्मेवारी बनाउने गरी नयाँ कानूनमा प्रस्ताव ल्याएको समेत जानकारी गराउनुभयो ।