राजनीति

कांग्रेसले भ्रष्टाचारको स्वर्णपदक दिलायो, सांसदले निर्दे्शिका तथा नियमावली चात्नु अराजकता : सांसद बस्नेत



काठमाडौँ, ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धानका पूर्वआयुक्त राजनारायण पाठक तथा कान्तिपुरका प्रधान सम्पादक नारायण वाग्लेले चुनावको समयमा कांग्रेसको झण्डा बोकी आफ्नो विरुद्धमा भोट मागी हिडेको बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद बस्नेतले प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले देशमा भ्रष्टाचारको स्वर्ण पदक दिलाउन सफल भएको बताउनुभयो । उहाँले कांग्रेसका पूर्वमन्त्रीहरु चिरञ्जीवि वाग्ले, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता, खुमबहादुर खड्का लगायतका नेताहरुलाई कांग्रेसले भ्रष्टाचारको स्वर्णपदक दिलाएको बताउनुभयो ।

उहाँले भ्रष्टाचारको जालो बोकेर बसेको कांग्रेसले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउने कुरा भ्रष्टाचार लुकाउने घृणित प्रयास गरेको बताउनुभयो । उहाँले अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख रुपौया भ्रष्टाचार तथा घुस लिएको जसको मध्यस्तता कांग्रेसकै सांसद सूर्यबहादुर केसीले गर्नुभएको समेत संसदमा जानकारी गराउनुभयो । उहाँले पूर्वआयुक्त पाठक नेपाली कांग्रेसले नै पठाएको आयुक्त भएको समेत जानकारी गराउनुभयो ।

वाइड वडी प्रकरणमा सार्वजनिक लेखा समितिले छानविन गरेको जसमा तीन जना मन्त्रीलाई नैतिक रुपमा जिम्मेवारी लिनुपर्ने देखाएको बताउँदै सांसद बस्नेतले जसमा दुईजना कांग्रेसकै मन्त्रीहरु परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीवनबहादुर शाही माथिको नैतिक प्रश्न स्पष्ट भएको छ । वाइड वडी प्रकरणका नाइके जीतेन्द्रदेव यादव हो की तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हो ? सार्वजनिक लेखा समितिलाई छुट्याउनु पर्छ ।’

अहिले सदनमा विभिन्न खालका गलत हल्ला फैलाउने काम भएको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘एकजना माननीय ज्यूले पशुपति शर्माका गीतलाई सरकारले प्रतिबन्ध लगायो भन्नुभयो, सो गीतलाई कहिले ? कुन मितिमा ? कहाँ प्रतिबन्ध लगायो ? यस्ता गलत अवफाह फैलाउने सांसदहरुलाई संसदीयमा मर्यादामा ल्याउनु पर्दछ ।’

सदनमा अफवाह फैलाउने कार्य भएको बताउँदै उहाँले संसदीय मर्यादा भुलेर कतिपय माननीय सांसदहरुले निर्दे्शिका तथा नियमावली च्यात्ने जस्ता अराजक काम गर्नु अशोभनीय भएको बताउनुभयो । त्यस्तै उहाँले यस्तो कार्यले संसदीय मर्यादाको अवमूल्यन भएको समेत बताउनुभयो ।

उहाँले विशेष गरेर निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममा आफ्नो सहभागिता माथि प्रश्न उठाउनु जायज भएको बताउँदै भन्नुभयो, ‘सम्बन्धित निर्वाचन क्षेत्रका सांसद प्रमुख हुने कुरा जायज हो । त्यसो भइरहँदा समानुपातिक सांसदहरुको भूमिका के हो ? त्यसबारेमा हामी छलफल गर्न सक्छौ । तर जुन ढंगले नियमावली च्यात्ने काम भएको छ यो एकदमै बेठिक भएको छ ।’

२०६३÷०६३ को आन्दोलनको सम्झदा गर्दै सांसद बस्नेतले तत्कालिन अवस्थामा आफूहरु युवा विद्यार्थीहरु नारायणहिटीको अगाडि गणतन्त्रको नारा लगाइरहँदा नेपाली काँग्रेसले संवैधानिक गणतन्त्र र वेवी किङ्गको वकालत गर्दै हिडेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यतिखेर नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद गणतन्त्रको बोर्डर लाइनमा छौ भनेर राजालाई घुर्काइरहनुभएको थियो भने अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको यो चालाले गणतन्त्र आउँद्रैन वयल गाडा चढेर अमेरिका गएजस्तो हुन्छ भन्ने उदाहरण दिँदै हुनुहुन्थ्यो ।’