राजनीति

नगद र कर्मचारीलाई टाढा राखी भ्रष्टाचारको अन्त्य गर्नुपर्छ : सांसद बस्नेत



काठमाडौँ, १० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कर्मचारी र नगदको भेट नहुने व्यवस्था हुनु नै भ्रष्टाचारको अन्त्य हुने बताउनुभएको छ ।

आज प्रतिनिधिसभामा सूचना प्रविधि विधेयक उपर भएको छलफलमा सांसद बस्नेतले सूचना प्रविधि ऐनले डिजिटल नेपाल निर्माण गर्ने कुरालाई शुरुवात गरेको बताउनुभयो । उहाँले डिजिटल तथा अनलाईन माध्यमबाट सम्पूर्ण प्रशासनिक कार्यहरु गर्दा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, विभिन्न प्रकारका विकृति तथा विसंगतीको अन्तय हुने बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले विधेयकले राष्ट्र र राष्ट्रियतालाई अब्बल बनाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘विधेयकमा अपरधालाई प्रोत्साहन गर्ने प्रकारका कार्य, गाली गलैज, चरित्र हत्या, सार्वभौमिक सत्ता माथि धावा बोल्ने, राष्ट्रिय अखण्डता विरुद्ध धावा बोल्ने, संघिय राज्यको बीचमा अफवाह फैलाउने, द्वन्द्व फैलाउन, शान्ति र स्थिरतामाथि गंभिर चोट पुर्याउने, लागुऔषध, चेलीवेटी बेचविखन लगायतलाई व्यवस्थित गरेको छ । यसको लागु भएसँगै राष्ट्र र राष्ट्रियता अब्बल हुन्छ ।’

अनलाईन पेमेन्टलाई व्यवस्थित गर्नुपर्ने बताउँदै उहाँले सामाजिक सञ्जाललाई नियमन गर्न दर्ताका प्रकृयामा ल्याई नेपालको कानुनी प्रावधान अनुसार व्यवस्थित गर्नु अहिलेको अपरिहार्यता भएको बताउनुभयो । उहाँले विधेयकले फेसबुक, इस्टाग्राम, अनलाईन पोर्टलहरुमा आउने विज्ञापनलाई राजश्वको दायरामा ल्याउने कार्य व्यवस्थित ढंगले ल्याएको बताउनुभयो । उहाँले विधेयकले डिजिटल हस्ताक्षरको व्यवस्था गरेको तर अनलाइन पेमेन्टको व्यवस्था नगरेकोमा त्यस्तो व्यवस्था थप्न आग्रह गर्नुभयो ।

विधेयकले सूचना प्रविधिको अदालत, राष्ट्रिय सूचना प्रविधिको नयाँ कन्सेप्ट ल्याएको बताउँदै उहाँले गलत सूचनालाई हटाउने समय दिने व्यवस्था समेत ल्याएकोले कसैले आपत्ती मान्नु पर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले गल्ती तथा कसुरदार ठहरे सजायको हकमा पाँच वर्षसम्म कैद, तीन देखि पाँच लाखसम्मको जरिवानाको कुरा ल्याएसँगै सामाजिक सञ्जालमा हुने विकृतिको अन्त्य हुने बताउनुभयो ।