भक्तपुर, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले लोकतन्त्र भनेको खुल्ला आकाश भएको बताउँदै देशलाई नाङ्गो बनाउनु लोकतन्त्र नहुने बताउनुभएको छ ।
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका १ स्थित चाँगुनारायण माध्यमिक विद्यालयको ७०औं बार्षिकोत्सव तथा अभिभावक दिवशको अवसरमा बोल्दै सांसद बस्नेतले समाजलाई नाङ्गो बनाउन केही राष्ट्र विरोधि तत्वहरु लागि परिरहेको बताउँदै लोकतन्त्रमा आफ्नो अधिकार प्रयोग गर्दा अर्काको अधिकारलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । उहाँले हाम्रो समाजमा आलोचनात्मक सोचको मात्र विकास गरेको बताउँदै आफुले गर्ने कुराको कुनै ज्ञान नहुने तर अरुले गरेको जुनसुकै कार्यको आलोचना मात्र गर्ने नकरात्मक बानी नै परिसकेको बताउनुभयो । उहाँले नकारात्मक सोचलाई त्यागी वर्तमान समयमा देश विकास र समृद्धिको लागि एक ढिक्का भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कुनै पनि नागरिकको बिचार तथा अभिव्यक्तिलाई कुण्ठित गर्न नभई हत्या, हिंसा, राष्ट्र, राष्ट्रिय अखण्डता खल्वल्याउन खोज्ने, राष्ट्रिय सुरक्षालाई चुनौति दिने, धार्मिक तथा साम्प्रदायीक द्वन्द्व फैलाउन खोज्ने लगायतलाई अराजक गतिविधिलाई रोक्नको लागि सूचना प्रविधि ऐन ल्याइएको बताउनुभयो ।
पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले देशमा शान्ति सुरक्षा तथा अमनचयनलाई स्थापित गर्नु सरकारको दायित्व भएको बताउँदै उहाँले सामाजिक सञ्जालमा राष्ट्र र राष्ट्रियता विरोधी गतिविधि गर्नेलाई एक पटक हटाउन जानकारी गराउने र त्यती गर्दा पनि उसले नहटाए ५ वर्षसम्म कैद तथा पाँच लाखसम्म जरिवाना गर्नसक्ने ऐनमा स्पष्ट व्यवस्था आएको जानकारी गराउनुभयो ।
फेसबुकले मात्र नेपालबाट वार्षिक ३३ अर्व रुपैंया रकम लाने गरेको बताउँदै उहाँले नेपालमा कुनै आधिकारीकता विना सञ्चालन गरी अरवौं रुपैंया रकम सामाजिक सञ्जाल सञ्चालकले लाने गरेको बताउनुभयो । उहाँले सूचना प्रविधि ऐन कै कारण नेपाललाई विदेशमा जाने अरवौं रुपैया फाइदा हुने साथै नेपाली युवालाई रोजगारीको वातावरण सिर्जना हुने समेत बताउनुभयो ।
वर्तमान सरकारले भू–उपयोग ऐन ल्याएको र जसमा कसैले जमिन बाँझो राखेमा रु तीन लाखसम्म जरिवाना हुने व्यवस्था गरेको सांसद बस्नेतले जानकारी गराउनुभयो । उहाँले नेपालमा ४५ प्रतिशत जमिन बाँझो रहेको बताउँदै उक्त जमिनलाई सहि तरिकाले सदुपयोग गरे १२ लाख युवालाई रोजगारीको व्यवस्था गर्न सकिने समेत बताउनुभयो ।
सरकारले देशमा नै रोजगारीको वातावरण सिर्जना गर्न विभिन्न प्रकारका रोजगारीका नीति तथा कार्यक्रमहरु तिव्र रुपमा विकास गर्दै अघि बढेको बताउँदै उहाँले भुकम्प पछि करिव ७ लाख घरहरुको पुनःनिर्माण गर्नुपर्ने भएको र जसको लागी करिव ७० प्रतिशत कामदारहरु विदेशी आएको समेत जानकारी गराउनुभयो ।
दक्ष तथा योग्य व्यक्ति जन्माउनु सरकारी विद्यालयको मूख्य जिम्मेवारी रहेको बताउँदै उहाँले वर्तमान शैक्षिक पद्धतिलाई प्राविधिक प्रणालीमा लैजानुपर्ने बताउनुभयो । उहाँले करिव १० प्रतिशत शिक्षामा बजेट विनियोजन भएको जानकारी गराउँदै प्राविधिक तथा वैज्ञानिक शिक्षा नै आत्मानिर्भरको आधार भएको बताउनुभयो । उहाँले सैद्धान्तिक रुपमा योग्यताको विकास गर्ने तर प्राविधिक रुपमा दक्षता कमी हुनाले नेपालको शैक्षिक गुणस्तर कमजोर भएको समेत बताउनुभयो ।
रुढिवादी तथा पुरातात्विक सोचका कारण प्राविधिक रुपमा विकास गर्न केही कठिनाई भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘समाजमा बुबा आमाले कृषिमा काम गर्ने मानिस नपाउने तर छोरा छोरीले काम गर्ने ठाउँ नपाउने परिस्थिती रहेको छ । मानिसले कृषिलाई आधुनिक तरिकाबाट आयआर्जको माध्यमबाट अघि नबढी जागिरको लागि ठूला नेताको शरणमा पुगी रोजगारीको खोजी गर्नु दुःखद् हो । शिक्षित युवाहरुले आधुनिक कृषि प्रणालीको विकास गरि कृषिलाई आत्मनिर्भर बनाउनुपर्छ, जसका कारण देशमा रोजगारीको वातावरण सिर्जना हुन्छ ।’
सरकारले शैक्षिक प्रमाणपत्र धितो, बिदेशबाट फर्केका युवा, महिला, कृषक समुह लगायतलाई ऋण दिने व्यवस्था सरकारले गरेको बताउँदै उहाँले आगामी दिनमा देशमा नै केही गरि आत्मनिर्भर बन्छु भन्नेलाई कुनै समस्या नरहेको बताउनुभयो ।
यो वर्ष सरकारको आधार वर्षको रुपमा स्थापीत भएको आगामी वर्षमा नतिजामूखी वर्ष हुने बताउँदै उहाँले संघियताको कार्यान्वयन भएसँगै कर्मचारी तथा प्रहरी लगायतको समायोजनको प्रकृया तिव्र गतिमा अघि बढिरहेको जानकारी गराउनुभयो । त्यस्तै उहाँले आगामी पाँच वर्ष भित्रमा वृद्धभत्ता पाँच हजार पुर्याएरै छोड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
भक्तपुरमा विकासको महाअभियान नै सञ्चालन भइरहेको बताउँदै उहाँले भक्तपुरमा स्मार्ट सिटी, वीर अस्पताल, रंगशाला, सुविधासम्पन्न सभागृह, प्राणी उद्यान केन्द्र, सुरुङ मार्ग लगायतका राष्ट्रिय गैरवका आयोजनाहरु निर्माणको प्रकृयामा रहेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्