गोरखा, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वपीडित परिवारका कम्तीमा एक जनालाई रोजगारी दिने बताउनुभएको छ ।
मंगलबार गोरखामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन कानुन संशोधन गर्न गृहकार्य भइरहेको बताउँदै प्रमुख विपक्षी कांग्रेस र द्वन्द्वपीडितलाई समेत विश्वासमा लिएर आयोगको ऐन संशोधन गर्ने सरकारको तयारी रहेको जानकारी गराउनुभयो ।
सत्य निरुपण र मेलमिलाप तथा वेपत्ता छानबिन आयोगले काम गरेको बताउँदै द्वन्द्वका प्रतिनिधिमूलक घटनामा कारबाही गरेर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याइने बताउनुभयो । सत्य पत्ता लगाउने र मेलमिलाप गराउने गरी शान्ति प्रक्रियाका बाँकी सबै काम टुंग्याइने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘त्यतिबेला युद्वद्वारा क्षति भएका परिवार, चाहे ती माओवादी हुन्, चाहे कांग्रेस हुन्, चाहे पुलिस सेना हुन्, चाहे अरु पार्टीका हुन्, सबैलाई परिपूरण दिने र पीडितहरुलाई मलम पट्टी लगाएर मेलमिलाप कायम गर्ने आयोगको काम हो ।’
मानवीय अपराधका केही प्रतिनिधिमूलक घटनामा भने दोषीलाई कारबाही पनि गरिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘साह्रै ठूला मानवीय अपराध भएका छन् भने केही प्रतिनिधिमूलक घटनाहरुलाई कारबाही पनि गर्ने गरेर सामाजिक मेलमिलाप कायम गर्नेतिर हामी अगाडि बढेका छौं । म शहीद, वेपत्ता र युद्धद्वारा पीडित परिवार सबैलाई म भन्न चाहन्छु, छिट्टै यो काम टुंगिँदैछ ।’
उहाँले राजनीतिक परिर्वतनमा योगदान गरेको भनेर पीडित परिवारलाई परिचय पत्र दिइने समेत जानकारी गराउनुभयो । पीडितलाई क्षतिपूर्ति दिन चाहिने रकम सहयोग गर्न अन्तराष्ट्रिय समुदाय तयार रहेको बताउँदै भन्नुभयो, ‘अस्ती दिएको राहत हो १० लाख । अब क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्