सम्पादकीय

बलात्कार गर्ने तीन अभियुक्तलाई १० वर्ष जेल



युवतीलाई ढुंगाले हानेर बेहोस बनाएपछि सामूहिक बलात्कार गर्ने तीन अभियुक्तलाई घटनाको १५ महिनापछि जिल्ला अदालत ललितपुरले दोषी ठहर गर्दै १०–१० वर्ष जेल सजाय सुनाएको छ ।

२ मंसिर ०७४ को राति गोदामचौरकी २१ वर्षीया कामकाजी विवाहित युवतीलाई गोदावरीका विशालध्वज कार्की, रघु सिलवाल र पवन कुँवरले ढुंगाले हानेर अर्धचेत अवस्थामा बलात्कार गरेका थिए । जिल्ला अदालतले उनीहरूलाई बलात्कार, ज्यान मार्ने उद्योग र चोरी गरी तीन मुद्दामा दोषी ठहर गरी कैद सुनाएको छ ।

शुक्रबार न्यायाधीश धनसिंह महराको इजलासले उनीहरूलाई ज्यान मार्ने उद्योग मुद्दामा १० वर्ष, बलात्कार मुद्दामा १० वर्ष र चोरी मुद्दामा ६० दिनको कैद सजाय फैसला गरेको छ । ‘यसमध्ये जुन मुद्दामा सबैभन्दा धेरै सजाय भएको छ, त्यही कार्यान्वयन हुन्छ,’ अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीले भने, ‘त्यसकारण उनीहरू १०–१० वर्ष जेल बस्नुपर्छ ।’ पीडितलाई जनही १–१ लाख क्षतिपूर्ति दिन पनि फैसला भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।