काठमाडौँ, १८ फागुन । नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको शनिबार निधन भएको छ ।
२१ दिनदेखि आईसीयूमा उपचार गराइरहनुभएका नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा निधन भएको हो । पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वास लगायतका समस्या देखिएको थियो । अकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिने नेकपा नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
नेकपाका नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित हुनुहुन्थ्यो । उहाँ मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री हुनुभएको थियो । त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उहाँकै योजना थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।
पूर्वअर्थमन्त्री अधिकारी संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुभएको थियो । त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गर्नुभएको थियो । अस्पतालमा सुत्केरी हुनेले अहिले पनि हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्, जुन उहाँकै अर्को जनमुखी कार्य रहेको छ ।
अधिकारीका श्रीमती र तीन छोरी छन् ।










प्रतिक्रिया दिनुहोस्