काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउप तथा अर्थमन्त्री भरत मोहन अधिकारीलाई राजकीय सम्मानका साथ नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलद्वारा अन्तिम श्रद्धाञ्जली दिदैं अन्त्येष्टि गरिएको छ । ८२ वर्षिया अधिकारीलाई आज पार्टी कार्यालयमा श्रद्धाञ्जली पश्चात पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका दिदै अन्त्येष्टि गरिएको हो ।
अन्तिम श्रद्धाञ्जली कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले नेपालको राष्ट्रिय झण्डा ओडाई राजकीय सम्मान दिइएको थियो । त्यस्तै स्व. मन्त्री अधिकारीलाई सलामी समेत दिइएको छ । पूर्वमन्त्री अधिकारीलाई उनका तीन छोरीले दागबत्ति दिएका छन् ।

२३ गते नेता अधिकारी तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्मानमा संयुक्त श्रद्धाञ्जली सभा गर्ने समेत भएको छ । त्यस्तै आज नेकपाले आफ्नो पार्टीको झण्डा आधा झुकाउने समेत निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको झण्डा झुकाउने र शोक पुस्तिका राख्ने निर्णय गरेको हो ।
काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचारका क्रममा उहाँको निधन भएको थियो । उहाँको विगत १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उहाँ निमोनिया, श्वासप्रश्वास, मुटु लगायतका रोगबाट ग्रसित अधिकारीलाई विगत २ महिनादेखि अस्पतालमा भर्ना हुनुभएको थियो ।

नेकपाका नेता अधिकारी मुलुकको इतिहासकै कुशल अर्थमन्त्रीका रुपमा चिर परिचित हुनुहुन्थ्यो । उहाँ मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री हुनुभएको थियो । त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उहाँकै योजना थियो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा अर्थमन्त्री बन्नू भएका अधिकारी वृद्धभत्ता र आफ्नो गाउँ आफैं बनाऔं जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएको थियो । उक्त कार्य अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ ।
पूर्वअर्थमन्त्री अधिकारी संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री हुनुभएको थियो । त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गर्नुभएको थियो । अस्पतालमा सुत्केरी हुनेले अहिले पनि हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन्, जुन उहाँकै अर्को जनमुखी कार्य रहेको छ ।










प्रतिक्रिया दिनुहोस्