समाचार

आगलागी हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते



तेह्रथुम, २१ फागुन । तेह्रथुमको छथर गाउँपालिकामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मंगलबार बिहान छथर गाउँपालिका–२ हमरजुङमा काठले बनेको दुईतले घरमा अचानक आगलागी हुँदा २० वर्षीया सम्झना कार्कीको मृत्यु भएको छ भने उनको आमा राममाया कार्की गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

मृतक सम्झनाको घरभित्रै जलेर मृत्यु भएको र घाइते आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जानाएको छ ।

आगलागीबाट रु. १० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । उक्त घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।