राजनीति

द्वन्द्वकालको रिस बाँकी छ भने दण्डित गर्नुस्, म तयार छु : संयोजक डा. बाबुराम



काठमाडौँ, २३ फागुन । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वकालीन समयमा भएका काम कारवाहीमा कसैसँग रिस भए आफु दण्डित हुन तयार रहेको बताउनुभएको छ ।

बुधबार संसदलाई सम्बोधन गर्दै भट्टराईले सत्यनिरुपण र मेलमिलाप तथा बेपत्ता आयोगले फर्गिभ एण्ड फर्गेट अर्थात ‘क्षमा गर र भूल’ को आधारमा काम गर्नुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वकालिन समयमा भएका घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले तत्काल समाधान गर्नुपर्ने भन्दै घटनाहरु ‘क्षमा गर र भूल’ भन्ने नीति अपनाउनुपर्ने बताउनुभयो । यदि कसैलाई दण्डित नगरी नहुने भए आफूलाई दण्डित गर्न चुनौती दिनुभयो ।

संयोजक डा. भट्टराईले संसदलाई कर्मकाण्डीको रुपमा नभई कामकाजी बनाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभयो ।

उहाँले मध्यपहाडी लोकमार्गको निर्माणलाई तीव्रता दिन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकमा विभिन्न स्थानमा खानेपानी र सिँचाइको समस्या देखिएको छ, त्यसलाई सम्बोधन गर्न जलउपयोग नीति बनाउनुपर्छ, शिक्षकको दरबन्दीलाई पनि व्यवस्थित तुल्याउन निकै आवश्यक देखिएको छ, शिक्षा क्षेत्रलाई व्यवस्थित तुल्याउन शल्यक्रिया गर्नुपर्छ ।”

कृषि उत्पादन बढाउन तथा कृषकलाई उत्प्रेरित गर्न छुट र राहतका कार्यक्रम ल्याउन आवश्यक रहेको बताउँदै पूर्वप्रधानमन्त्री भट्टराईले मुलुकका कतिपय स्थानमा रहेको पुरातात्विक वस्तुको संरक्षण र पुनःनिर्माणको काम हुन आवश्यक रहेको बताउँदै उहाँले प्राकृतिक प्रकोपको दोहनलाई रोक्न राज्यले आवश्यक ध्यान दिनुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “विश्व स्वतन्त्रताको दुनियाँमा प्रवेश गरेकाले युग परिवर्तनको चेतलाई बुझेर देशलाई समृद्ध तुल्याउने अभियानमा सहभागी हुन तथा विश्व अर्थ व्यवस्था अघि बढाउन परराष्ट्रनीतिलाई गतिशील तुल्याउन आवश्यक छ ।”

राजनीतिक प्रणालीमा सुधार गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न तथा सदाचारको नीतिलाई प्रवद्र्धन गर्न पनि उहाँले सुझाव दिनुभयो । राष्ट्रिय विकासका लागि राष्ट्रिय रणनीति तय गर्न संसद्ले पहल गरोस् भन्दै भट्टराईले संसद्लाई कर्मकाण्डीक रुपमा होइन वास्तविक बहस गर्ने थलोको रुपमा विकास गर्न आह्वान गर्नुभयो ।