काठमाण्डौ, २९ फागुन । सभामुख कृष्णबहादुर महराले तराई–मधेश तथा थरुहट आन्दोलनको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन ।
बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारको विशेष ध्यानाकर्षण गराएका हुन् ।
सभामुखले भने, ‘मैले अघिल्लो बैठकमा पनि सरकारको गम्भीर ध्यानकर्षण गराएको थिएँ, सरकारका तर्फबाट पनि जवाफ आएको थियो, त्यस आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न गराउन म निर्देशन दिन्छु ।’
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबारको प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका थिए । राजपाको अवरुद्धपछि १० मिनेटका लागि बैठक स्थगित गरिएको थियो । त्यसपछि सुरु भएको बैठकमा सभामुख महराले सरकारलाई यथासिघ्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका हुन् ।
सभामुखको निर्देशनपछि राजपाका सांसदले आ-आफ्नो स्थान ग्रहण गरेपछि सदनको बैठक अहिले सञ्चालन भएको छ ।










प्रतिक्रिया दिनुहोस्