धनगढी, ३० फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको बन्दका क्रममा आज बिहान कैलालीको राजीपुर जङ्गल नजिकका सडकमा एक जन्ती बसमा आगजनी गरिएको छ ।
जन्तीका ब्याण्डबाजा बजाउने १२ व्यक्ति सवार रहेको म १ ख ४४१ नं को उक्त बसलाई राजीपुरको जङ्गलमा बिहान चार बजेको समयमा रोकेर अपरिचित नौ जनाको समूहले डिजेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले बताउनुभयो ।
भजनीबाट भीमदत्तनगरतर्फ गैइरहेको उक्त बसमा सवार चालक सहचालक सबै सकुशल छन् । आजै बिहान कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीमा रोकिराखेका बस जलाइदिन्छौँ भन्ने समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर बेतकोटका कोषराज भट्ट, भीमदत्तनगरका सुशिला चन्द र डोटी विपीनगरका धनबहादुर बम रहेका छन् ।










प्रतिक्रिया दिनुहोस्