राजनीति

अपराधिक तथा विध्वंशकारी, प्रचलित कानुन अनुसार कारबाही : मन्त्री बाँस्कोटा



काठमाडौँ, १ चैत । सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले विप्लव समूह अपराधिक तथा विध्वंशकारी भएकाले प्रचलित कानुन अनुसार कारबाही गरिने बताउनुभएको छ ।

सरकारका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्म्मेलनमा मन्त्री बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक क्रियाकलापमा प्रतिबन्ध लगाएको औपचारीक जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, ‘त्यस समूहलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गर्न आवश्यक थियो, त्यही काम सरकारले गरेको हो ।’

सकारले अवैध हातहतियार तथा खरखजना नियन्त्रणमा लिन सूचना जारी गर्ने निर्णय गरेको उहाँले जानकारी गराउनुभयो । अवैध तथा दर्ता नभएका हातहतियार तथा खरजना ३५ दिनभित्र जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनालाई बुझाउन सकिने भन्दै उहाँका अनुसार तोकिएको अवधिमा हतियार तथा खरजना बुझाउनेलाई कुनै कारबाही गरिने छैन ।