राजनीति

खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्दछ : मन्त्री मगर



कञ्चनपुर, २ चैत । खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताएकी छन् ।

कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै नलिइ खेलकुद क्षेत्रले समग्र राष्ट्रको पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन ।

सरकार विकासको काम सँगसँगै खेलकुद, स्वास्थ्य र शिक्षा क्षेत्रलाई पनि बढी प्राथमिकता दिएर अघि बढिरहेको उनको भनाइ थियो ।

मन्त्री मगरले केन्द्रबाट केही नीतिगत कार्यहरू गर्दा प्रदेश र स्थानीय तहमा काम गर्न समस्या देखिएपनि त्यो समस्या छिटै समाधान हुने बताउदै उनले भनिन्, ‘यो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएकाले सरकार त्यसका लागि लागिरहेको छ ।’

‘सरकारले केही काम नै गरेन भन्ने दुष्प्रचार भईरहेको छ । त्यस्तो होईन, सरकारले कानुन बनाउनुपर्ने, संघीयता कार्यान्वयन गर्नुपर्ने र विकासका कामहरु गर्नुपर्ने भएकाले तत्काल नदेखिएको हुन सक्छ तर सरकारले एक वर्षमा धेरै काम गरेको छ ।’